
धनी राम काेरी , कपिलवस्तु , चैत १९
“ सक्षम नेतृत्व , सबल समाज ” भन्ने मुल नाराका साथ आधारभूत पत्रकारिता एवं नेतृत्व बिकास तालिम तौलिहवामा सम्पन्न भएको छ।कपिलबस्तु नगरपालिका वडा नम्बर १को आर्थिक सहयोग तथा डायनामिक सामाजिक बिकास संस्थाको आयोजनामा सुरु भएको तालिम बिहिबार तौलिहवामा सम्पन्न भएको हो ।
कपिलबस्तु नगर स्तरिय तालिममा सञ्चारको बिकास, महत्व र आवश्यक्ताबारे जानकारी दिनुका साथै समाचार लेखन, सम्पादन तथा सत्य, तथ्य, सन्तुलित, विश्वसनिय समाचार संकलन र बिकास निर्माणका प्रक्रियामा युवाहरुको भुमिकाबारे पनि जानकारी गराइएको आयोजकले जनाएको छ । तालिममा सहभागी प्रशिक्षार्थी पत्रकारहरुलाई प्रमाणपत्र प्रदान गर्दै कपिलबस्तु नगरपालिकाका सामाजिक बिकास अधिकृत पदमराज श्रेष्ठ ले नगरपालिकालाई सुचना, सञ्चारको क्षेत्रमा पहुँच वृद्धि गर्दै प्रत्येक नागरिक लाई सुचना मैत्री बनाउने अभियानमा महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुपर्ने र तालिममा सिकेको सीप प्रयोग गर्न निरन्तर कलम चलाउन पनि आग्रह गर्नुभयो।कार्यक्रममा बोल्दै बरिष्ठ पत्रकार डाक्टर शतिश उपाध्यायले पत्रकारिता पेसालाई इमान्दार रुपमा अगाडि बढाउन मिसन पत्रकारिताको थालिनी गर्नुपर्ने बताउनुभयो ।
त्यस्तै कपिलबस्तु नगरपालिका वडा नम्बर १ का कार्यवाहक अध्यक्ष बिष्णु वारीले पत्रकारिता तथा सञ्चार क्षेत्र समाज परिवर्तनको महत्वपूर्ण अंग भएकाले अनिमियतता रोक्ने कार्यमा पनि उत्तिकै भूमिका रहेको बताउनुभयो ।

यस्तै डायनामिक सामाजिक बिकास संस्थाका अध्यक्ष मोहम्मद इरफान मन्सुरीले व्यक्तित्व विकास र क्षमता अभिवृद्धि ले समाजलाई सकारात्मक परिवर्तन आउने विश्वासका साथ तालिमको आयोजना गरिएको बताउनुभयो। उक्त तालिममा मेरो साथी एफ एमका स्टेशन म्यानेजर शारदा केसी, नेपाल टेलिभिजन कपिलबस्तु संवाददाता बासुदेव बर्मा (अजय) , रेडियो परिवर्तनका समाचार बाचक बिक्रम बिश्वकर्मा, परशुराम यादव, प्राइम एवं टिभि टुडे टेलिभिजनका कपिलबस्तु संवाददाता अनिल कुमार माली, लगायतले प्रशिक्षण दिनुभएको थियो । तालिममा धनीराम कोरी र करिश्मा गुप्ता ले तालिमबाट प्राप्त अनुभवका बिषयमा आआफ्नो धारणा राख्नुभएको थियो ।
डायनामिक सामाजिक बिकास संस्थाका अध्यक्ष मोहम्मद इरफान मन्सुरीको सभापतित्व, बासुदेव बर्मा (अजय)को संयोजकत्व रहेको कार्यक्रमको संचालन प्रमोद हरिजनले गर्नुभएको हो । कार्यक्रममा करिव ३० जना प्रशिक्षार्थीहरु सहभागी रहेका थिए ।



