

दिपक जैसवाल , बुटवल , जेठ १३
रूपन्देहीको बुटवल उपमहानगरपालिका वडा नम्बर १० कालिकानगरमा रहेका एकै परिवारका तीन सदस्यको मृत्यु भएको छ। त्यो पनि आठ दिनको अन्तरालमा ६९ वर्षिय नरबहादुर गुरूङ, उनकी श्रीमती ५९ वर्षीया मनसरा र ३९ वर्षका छोरा प्रेमबहादुर गुरुङको मृत्यु भएको हो ।

बाबु छोराको उपचारका क्रममा भैरहवाको युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा मृत्यु भएको हो भने मनसराको मृत्यु होम आइसोलेसनमा बसिरहेका बेला मृत्यु भएको हो । आमा मनसराको जेठ ५ , छोरा प्रेमको जेठ ७ र बाबु नरबहादुरको जेठ १२ गते भएको वडाध्यक्ष पदमबहादुर थापाले बताए ।
उनीहरु सबैजना कोरोना संक्रमित रहेको र बाबु छोराको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको वडाध्यक्ष थापाले बताए । उनका अनुसार बुहारी अर्थात् प्रेमकी श्रीमतीपनि संक्रमित भएकाले उनलाई बुटवलको एन्फा टेक्निकल सेन्टरको आइसोलेसनमा राखिएको र परिवारमा भएका घटनाबारे थाहा दिइएको छैन ।
