
शहबाज खान, कपिलवस्तु
जनता आवास निर्माणमा ढिलासुस्ती भएपछि उपभोक्ताहरुलाई समस्या भएको छ । समयमै जनता आवास निर्माण नभएपछि उनीहरुले त्रिपाल मुनि बस्न बाध्य भएका छन् ।
प्रदेश सरकारको कार्यक्रम अन्तर्गत गरिब, घरपरिवारका लागि जनता आवास कार्यत्रममाफर्त पक्की घर निर्माण गर्दै आएको छ । कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिका वडा नम्बर १ छिटौनी गाउँमा जनता आवास निर्माणमा ढिलाइ भएको पाइएको छ । गत आर्थिक वर्षमा जनता आवास कार्यक्रम अन्तर्गत भवन निर्माण कार्य सुरु भए पनि हालसम्म पूर्ण निर्माण कार्य सम्पन्न भएको छैन । निर्माण कार्य समयमा सम्पन्न नभएपछि लामो समयदेखि घासफुसको छाप्रो र त्रिपाल मुनि बस्न बाध्य भएको उपभोक्ताले गुनासो गरेका छन् ।
जनता आवास उपभोक्ता सत्तन पासी अनुसार भवन निर्माण कार्य पहिलो चरणदेखि विजय पाण्डेले गरि रहेको बताए । उनले एक वर्ष बिति सक्दा पनि हालसम्म भवन पुर्णरुपले निर्माण नभएको बताए । निर्माण कार्य ढिलासुस्तीले हामी घरबिहीन भएको भन्दै दुखसमेत पोखे । उनले भने “हामी घर बिहीन भएका छाँै । कसले बुझ्ने हो हाम्रो दुःख ? हावाहुरी पानी पर्दा आफ्नो बालबच्चा र खाने, पिउने सामान लिएर छिमेकीहरुको घरमा बस्नु पर्ने स्थिति रहेको छ ।”

उनले विजय पाण्डेलाई पटक–पटक भवन निर्माण कार्य सम्पन्न गर्नको लागि अनुरोध गरे पनि नसुनेको बताए । उनले बैंक खाताको चेकबुक विजय पाण्डेले आफै राखेको आरोपसमेत लगाए । बैँकबाट पैसा निकालने बेला इन्जिनियर र विजय पाण्डे आएपछि चेक र अन्य कागजहरुमा हस्ताक्षर गराएर पैसा निकाल्ने गरेको उनले बताए ।
गत आर्थिक वर्षमा भवन निर्माण कार्य सुरु गरि हालसम्म दुई चरणको मात्रै भवन निर्माण कार्य सम्पन्न भएको सब–ओभरसेयर गोपाल क्षेत्रीले बताएका छन् । गत आर्थिक वर्षको भवन निर्माण कार्य हालसम्म बाँकी नहुनु पर्ने तर उपभोक्ताहरुको ढिला सुस्तीको कारणले निर्माण कार्य सम्पन्न हुन नसकेको बताए । उनले छिटै निर्माण कार्य सम्पन्न गरि भुक्तानी गर्नका लागि पटक–पटक जानकारी गराउँदै आएको सब–ओभरसेयर क्षेत्रीले बताए ।
जनता आवासको भुक्तानी उपभोक्ताको (सम्बन्धित व्यक्ति) को बैंक खातामा जान्छ । चार चरणमा काम गरे वापत चार चरणमा भुग्तानी पनि हुने गर्छ । कृष्णनगर क्षेत्रमा गत आर्थिक वर्षमा निर्माण कार्य सुरु भएको भवन मध्ये १० वटा भवन अधुरो रहेको उक्त कार्यालयका सुपरभाइजर जनार्दनले बताए । गत वर्षको निर्माणधिन रहेको जनता आवासलाई छिटै तयार गर्र्न पटक–पटक विजय पाण्डेलाई भनेको सुपरभाइजर जनार्दनको भनाइ छ ।
लुम्बिनी प्रदेश सरकारले जनता आवास कार्यक्रम सञ्चालंन गरि गरिब, अति विपन्न जनता पहुँच नभएको परिवारलाई पक्की भवन निर्माण गरि सुखी र सुरक्षित बास बस्ने व्यवस्था गर्ने उद्धेश्यले जनता आवास कार्यक्रम लागु गरेको छ । विचौलियाहरुको कारणले गरिब जनता आफ्नो बालबच्चा, आफ्नो परिवारलाई सुखी र सुरक्षित बास बस्न पाउन सकेका छैनन् । विजय पाण्डे पुर्व प्रदेश सभा सदस्य, विरेन्द्र कानोडियाका नजिकक रहेको स्थानीयले बताउँछन् ।
