जर्मनीलाई हराउँदै स्पेन सेमिफाइनलमा

0
Quantam abroad studies

काठमाडौँ । स्पेन युरो २०२४ को सेमिफाइनलमा पुग्ने पहिलो टोली बनेको छ । पहिलो क्वार्टरफाइनल खेलमा स्पेनले आयोजक जर्मनीलाई २–१ गोलले हराएको हो । निकै प्रतिस्पर्धात्मक बनेको खेल निर्धारित समयमा टुङ्गो नलागेपछि अतिरिक्त समयमा पुगेको थियो । अतिरिक्त समयको पनि अन्तिम मिनेटमा ड्यानी ओल्मोको पासमा गोल गर्दै मिकेल मेरिनोले स्पेनलाई जित दिलाए ।खेलको अन्त्यतिर ड्यानी कार्भाहालले दोस्रो पहेँलो कार्ड खाँदै मैदान छाड्न परे पनि जर्मनीले त्यसपछि गोल फर्काउन सकेन ।यसअघि निर्धारित समयको खेल १–१ को बराबरीमा टुङ्गिएको थियो । पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेका थिएनन् ।दोस्रो हाफको ५१ औँ मिनेटमा ड्यानी ओल्मोले गोल गर्दै स्पेनलाई अग्रता दिलाए । स्पेन जिततर्फ अग्रसर बनिरहँदा ८९ औँ मिनेटमा फ्लोरियन व्रिट्जले गोल गर्दै जर्मनीलाई खेलमा फर्काएका थिए ।

जारी युरोकपमा स्पेन हालसम्म अपराजित छ । स्पेनले पाँच खेल जितिसकेको छ । समूहगत चरणमा पहिलो हुँदै स्पेन नकआउट चरणमा प्रवेश गरेको थियो । समूह ‘बी’ अन्तर्गतको आफ्नो पहिलो खेलमा स्पेनले क्रोएसियालाई ३–० गोलले हराएको थियो । 

आफ्नो दोस्रो खेलमा स्पनेले साबिक विजेतासमेत रहेको इटालीमाथि १–० गोलको रोमाञ्चक जित हात पारेको थियो । समूहगत चरणको आफ्नो तेस्रो खेलमा भने स्पेनले अल्बानियालाई १–० गोलले पराजित गरेको थियो ।  

प्रि–क्वार्टरफाइनल खेलमा भने स्पेनले जर्जियामाथि ४–१ गोलको सजिलो जित हात पारेको थियो । स्पेनले समूहगत चरणमा पाँच गोल गरेको थियो भने एक गोल पनि खाएको थिएन ।

sahani furniture udyog

स्पेनले सन् १९६४ मा आफ्नो पहिलो सहभागितामै युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा तत्कालीन सोभियत सङ्घलाई २–१ गोलले हराएको थियो । त्यसपछि स्पेनले सन् २००८ मा दोस्रो पटक युरोकपको उपाधि उचालेको थियो । 

त्यतिबेला स्पेनले फाइनलमा जर्मनीलाई नै १–० गोलले पराजित गरेको थियो । त्यसलगत्तै स्पेनले सन् २०१२ मा युरोकपको उपाधि जितेको थियो । त्यतिबेला स्पेनले फाइनलमा इटालीलाई ४–० गोलले हराएको थियो । 

स्पेन लगातार दुईपटक युरोकपको उपाधि जित्ने एकमात्र राष्ट्र पनि हो ।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.