
अजय सहानी , कपिलवस्तु , असार २१
जिल्लाको यशोधरा गाउँपालिकाले लाखौंको सरकारी समानको दुरुपयोग गरेको छ । गाउँपालिकाको प्रागडमै रहेको पालिकाको सभाहलमा पालिका प्रतिनिधि र कर्मचारीको ठुलो लापरबाही देखिएको छ । सभाहलमा रहेका सोफा , कुर्सी , इभर्टर, मोटरसाइकल , साइकल लगायत बिबिध सामान एक महिना देखि घाम पानी लागेर खराब भैरहेको छ ।
जनताको करबाट किनिएको उक्त सामान पालिकाका प्रतिनिधि र कर्मचारीले देखेर पनि नदेखे जस्तो गर्दा बर्खाको पानीले भिज्दै खराब भैरहेको छ । जेठ १९ गते बर्खा संगै आएको हुरिबतासले पालिकाको सभाहलको टिनको छापरो उडाएको थियो । छाप्रो उडाएपछि हल भित्रका सामान सुरक्षित स्थानमा सर्नुपर्ने वा त्यहीँ सुरक्षित राख्ने ब्यवस्था मिलाउनु पर्ने हो । तर बिडम्बना त्यहाँका कर्मचारी र जनप्रतिनिधिले लाखौं रकमको सामान खराब भैरहदा समेत एक महिनासम्म लापरबाही पुर्बक पानीमा भिजन र सडन छोड्नुले पालिकाको बेतिथि छर्लङ्ग देखाउछ । हुरी आएको एक महिना बित्दा समेत सामान यत्र तत्र छरिएको छ ।

स्थानीय संग कुरा गर्दा जनप्रतिनिधि र कर्मचारीले मिलेमतोमा समान खराब बनाउन चाहेको र हुरि बर्खाले खराब भयो भन्ने बहानामा नयाँ आर्थिक बर्षमा पुन सामान खरिद गरि आर्थिक चलखेल गर्ने तयारी रहेको बताउँछन् । एक महिनासम्म पालिकाको यस विषयमा ध्यानाकर्षण नहुनु आफैमा शंकास्पद देखिन्छ । स्थानीय अनुसार समयमै ब्यवस्थापन गरिएको भए क्षति कम हुनथ्यो। यस्तै हलको छपरोको टिन जथाभावी छरिएको अवस्था रहेको हुँदा फेरि हुरिबतास आए उक्त टिन उडेर मानवीय क्षति हुने संभावना प्रवल रहेको छ ।
यसै विषयमा यशोधरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ऋषब देव खनाल संग प्रतिक्रिया लिदा आफु भख्खर पालिकामा आएको र टिनको छापरो मर्मत गर्न प्रक्रिया अगाडी बढाएको बताएका छन् । अधिकृत खनाल अनुसार हुरिबतासमा कुल ११ लाख बराबरको क्षति भएको मुल्यांकन गरिएको छ ।
यसैगरी यस विषयमा पालिका प्रमुख शिवदयाल तिवारी , सूचना अधिकारी अनिल ओझा , प्रशासन तथा योजना शाखा प्रमुख रेशम राज शर्मालाइ पटकपटक फोन गर्दा समेत फोन उठेन ।

