
शहबाज खान, कपिलवस्तु
कपिलवस्तुको कृष्णानगर नगरपालिका वडा नं. १ सेमरा स्थित उद्योग वाणिज्य संघ कृष्णानगरको सभा हलमा आज संघको ११औँ साधारण सभा तथा अधिवेशन वृहतरूपमा सम्पन्न भएको छ। कार्यक्रम उद्योग वाणिज्य संघका अध्यक्ष रामकुमार गुप्ताको अध्यक्षतामा सम्पन्न भएको हो।
उक्त कार्यक्रममा प्रमुख अतिथि उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्मा हुनुहुन्थ्यो। विशिष्ट अतिथिका रूपमा कपिलवस्तु निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य माननीय मंगलप्रसाद गुप्ता, कृष्णानगर नगरपालिकाका प्रमुख रजत प्रताप शाह, उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य जम्शेर अली मियाँ, लुम्बिनी प्रदेश सभा सदस्य माननीय जानकीप्रसाद यादवलगायत अन्य विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा नेपाली कांग्रेसका पूर्व प्रतिनिधि सभा सदस्य अभिषेक प्रताप शाह, पूर्व मन्त्री ईश्वर दयाल मिश्र, पूर्व मन्त्री बिरेन्द्र कनोडियासहित उद्योगी–व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमका प्रमुख अतिथि कृष्णप्रसाद शर्माले ११औँ साधारण सभामा सम्बोधन गर्दै स्थानीय सरकार र निजी व्यवसायीहरूबीच सहकार्य र समन्वयको आवश्यकता औंल्याउनुभयो। उहाँले कृष्णानगर क्षेत्रमा विस्थापित उद्योग–व्यवसायलाई पुनः सञ्चालनमा ल्याउन सबै पक्ष मिलेर काम गर्नुपर्नेमा जोड दिनुभयो।
उहाँले भन्नुभयो, “कृष्णानगरको विकास सडक र नालीजस्ता भौतिक पूर्वाधार निर्माणले मात्र सम्भव हुँदैन। यहाँ उद्योग–व्यवसाय स्थापना गरी स्वदेशी उत्पादन र रोजगार सिर्जना गरेमात्र समग्र विकास सम्भव छ।”
सभामा सहभागी अन्य वक्ताहरूले उद्योग क्षेत्रको पुनर्जागरणका लागि नीति निर्माण, पूर्वाधार विकास र सहकार्यलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याए। उनीहरूले व्यवसायिक वातावरण सुधार्नका लागि निजी क्षेत्र र स्थानीय सरकारबीच निरन्तर संवादको खाँचो रहेकोमा ध्यानाकर्षण गराए।
कार्यक्रमका क्रममा उद्योग क्षेत्रलाई पुनर्जीवित गर्ने रणनीति, चुनौती र अवसरहरूको गहिरो समीक्षा गरिएको थियो। सभाले कृष्णानगरको औद्योगिक तथा आर्थिक क्षेत्रलाई समृद्ध बनाउने संकल्प व्यक्त गरेको छ।
