
नयाँ दिल्ली, भारत — नेपालले भारतसँग अतिरिक्त हवाई रुटको माग गरेको छ। परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले शुक्रबार नयाँ दिल्लीमा आयोजित ‘भारत-नेपाल आर्थिक सम्मेलन’ (इन्डो नेपाल इकोनोमिक कन्फ्रेन्स) लाई सम्बोधन गर्दै यो कुरा सार्वजनिक गरेकी हुन्।
सम्बोधनका क्रममा मन्त्री राणाले नेपालले दुई प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल — पोखरा र लुम्बिनी — निर्माण गरेको उल्लेख गरिन्। उनले भनिन्, “हामीले नेपालका पोखरा र लुम्बिनीमा दुई अन्तर्राष्ट्रिय विमानस्थल बनाएका छौं। ती दुवै संसारकै लोकप्रिय सहर हुन्। पोखरा पर्यटन नगरी हो भने लुम्बिनी भगवान गौतम बुद्धको जन्मस्थल हो। ती विमानस्थलबाट हामीले पर्यटन मात्र नभएर समग्र सम्पर्क विस्तार पनि गर्न चाहन्छौं।”
मन्त्री राणाले यी विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालनका लागि थप हवाई रुट आवश्यक रहेको बताइन्। विमानस्थलको सञ्चालनलाई प्रभावकारी बनाउन छिमेकी मुलुक भारतसँग सहयोग आवश्यक भएको उनको भनाइ थियो।

“यी विमानस्थललाई हामीले ठूलो खर्चमा निर्माण गरेका हौं,” मन्त्री राणाले थप भनिन्, “अब तिनलाई पूर्णरुपमा सञ्चालन गर्न भारतीय एयरलाइन्सहरूलाई नेपालमा थप उडान गर्न आग्रह गर्दछौं।” उनले भारतीय एयरलाइन्सलाई पोखरा र लुम्बिनीमा थप उडान भर्न प्रोत्साहित गर्न समेत आग्रह गरिन्।
नेपालका पोखरा र लुम्बिनी विमानस्थल क्षेत्रीय हबका रूपमा विकास गर्न खोजिएको छ। यी विमानस्थलहरूको पूर्ण क्षमतामा सञ्चालनले पर्यटन क्षेत्रलाई थप बल पुग्ने नेपाल सरकारको अपेक्षा छ।
