
नेपालमा सञ्चालित जलविद्युत आयोजनामध्ये सबैभन्दा ठूलो, ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युतगृहबाट विद्युत् उत्पादन आंशिक रूपमा सुरु भएको छ। गत असोज ११ र १२ गतेको अविरल वर्षाका कारण क्षतिग्रस्त संरचनाहरुको मर्मतसम्भार पछि ८८ दिनपछि मङ्गलबार बेलुकी ७:४० बजे पुनः विद्युत् उत्पादन सुरु गरिएको हो।
हाल तामाकोशी नदीमा उपलब्ध पानीको बहावलाई पूर्ण रूपमा प्रयोग गरी १२० मेगावाट विद्युत् उत्पादन भइरहेको छ।

असोज ११ गते साँझ ७ बजेदेखि तामाकोशी नदीमा पानीको बहाव उच्च भएपछि केन्द्रबाट विद्युत् उत्पादन बन्द गरिएको थियो। त्यसपछि असोज १२ गतेको पहिरोले बाँधस्थल नजिकै रहेको नियन्त्रण कक्ष भवन, बालुवा थिग्रयाउने पोखरी (डिस्याण्डर), र बाँधबाट डिस्याण्डरसम्म पानी पुर्याउने भूमिगत नहर (कल्भर्ट)मा क्षति पुर्याएको थियो।
मर्मत सम्पन्न भएपछि आयोजनाबाट पुनः राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् जोडिएको छ। थप संरचनाहरूको मर्मत कार्य जारी रहेको र पूर्ण क्षमतामा उत्पादन छिट्टै सुरु हुने अपेक्षा गरिएको छ।
