
ताैलिहवा, पुस २३ – युनाइटेड अरब इमिरेट्सको ‘फ्लाई दुबई’ एयरलाइन्सले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान पुनः सुरु गर्ने भएको छ। कम्पनीले यहि पुस २९ गतेदेखि उडान सञ्चालन गर्ने घोषणा गरेको छ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार, एक महिनाका लागि स्थगित गरिएको फ्लाई दुबईको उडान जनवरी १५ अर्थात् पुस २९ गतेदेखि पुनः सञ्चालनमा आउनेछ। विमानस्थलमा एकसाथ आधा दर्जन एयरलाइन्सले उडान थाले पनि केहीले अस्थायी रूपमा उडान स्थगन गरेका थिए। तर, फ्लाई दुबईले एक महिना विश्राम पश्चात आफ्नो सेवा पुनः सुचारु गर्न लागेको जानकारी दिइएको छ।

फ्लाई दुबईले साताको सातै दिन दुबई–भैरहवा–काठमाडौं–दुबई उडान सञ्चालन गर्दै आएको छ। यसले दुबई र नेपालबीचको हवाई यात्रामा सहजता ल्याउने अपेक्षा गरिएको छ। विमानस्थलका प्रवक्ताका अनुसार, उडान पुनः सञ्चालनले भैरहवाको अन्तर्राष्ट्रिय हवाई यात्रामा सकारात्मक प्रभाव पर्नेछ।
यस निर्णयले यात्रुहरूलाई थप सुविधा प्रदान गर्दै दुबई र नेपालबीचको व्यापार, पर्यटन तथा अन्य सम्बन्ध सुधार्न मद्दत गर्ने विश्वास लिइएको छ।
