
कपिलवस्तुको बाणगंगा नगरपालिका– ११ देउवापारमा छैठौँ नगरस्तरिय माघी ‘खिचडी’ महोत्सव आयोजना हुने भएको छ। थारु कल्याणकारिणी सभा बाणगंगा नगर कार्यसमितिको आयोजनामा माघ २ गतेदेखि ४ गतेसम्म तीन दिन यो महोत्सव चल्नेछ।
आयोजक संस्थाका अध्यक्ष नाथुराम थारुका अनुसार थारु संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्द्धन गर्ने उद्देश्यले यो महोत्सव आयोजना गरिएको हो। महोत्सवले थारुहरूको सीप, कलासँग जोडिएका सामग्री तथा थारु खानाका परिकारलाई उजागर गरी प्रवर्द्धन र बजारीकरणमा सहयोग गर्ने विश्वास लिइएको छ। यो महोत्सव थारुको वास्तविक पहिचान झल्काउन महत्वपूर्ण साबित हुने दाबी गरिएको छ।
महोत्सवमा थारु सांस्कृतिक झाँकी ¥याली प्रदर्शन, सांस्कृतिक प्रस्तुति, थारु खानपिन प्रदर्शनी एवं बिक्री, थारु सीप हस्तकला प्रदर्शन लगायतका विभिन्न कार्यक्रमहरू समावेश हुनेछन्। थारु संस्कृति झल्कने झुमरा, झर्रा, लाठी नाच, मयूर नाच, सजनी विरहनी गीत, रेकर्ड डान्स जस्ता प्रस्तुतिहरू पनि रहनेछन्। यस वर्ष थारु कला, भाषा तथा संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित माध्यमिक विद्यालय स्तरिय वक्तृत्वकला प्रतियोगिताको पनि आयोजना गरिने भएको छ।

महोत्सवलाई भव्य रूपमा सफल बनाउन नगरपालिका, वडा र अन्य सरोकारवाला निकायहरूको साथ र सहयोग रहेको आयोजकले जनाएको छ। थारु समुदायको नयाँ वर्ष र ठूलो पर्वको रूपमा रहेको माघीलाई उत्साह र उमंगका साथ मनाइन्छ। सरकारले यस अवसरमा सार्वजनिक बिदा दिँदै आएको छ।
