
शीतलहरसहित जाडो बढ्दै गएपछि कपिलवस्तुको महाराजगंज नगरपालिका–१० हर्दौनामा ३ सय बिपन्न परिवारलाई सिरक वितरण गरिएको छ। सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले सीमावर्ती क्षेत्र हर्दौनामा सिरक वितरण गरेको हो।
सिरक वितरण कार्यक्रममा पूर्वमन्त्री तथा सांसद सुरेन्द्रराज आचार्य, महाराजगंज नगरपालिकाका मेयर अब्दुल कलाम, उपमेयर रिता कुमारी चौधरी, इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख सुशील चापागाईं, चिफ एजेन्सी मेनेजर भरत प्रसाई र वडाध्यक्ष शैलेन्द्र कुमार चौधरीले सहभागीता जनाउँदै सिरक हस्तान्तरण गरे।
सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग
कार्यक्रममा सांसद आचार्यले शीतलहरको मारमा रहेका सीमावर्ती क्षेत्रका बिपन्न परिवारलाई सहयोग गर्न आफ्नो आग्रहपछि इन्स्योरेन्स कम्पनीले सिरक वितरण गरेको जानकारी दिए। उनले जनताको जीवन सहज बनाउन प्रदेश र स्थानीय तहलाई जनतामुखी काम गर्न पनि आग्रह गरे।
इन्स्योरेन्स कम्पनीका प्रदेश प्रमुख सुशील चापागाईंले सामाजिक उत्तरदायित्व अन्तर्गत यो सहयोग गरिएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे।
बिपन्न परिवारमा खुशी

बाणगंगा नदी कटानबाट सबैभन्दा पीडित बनेको हर्दौनाका बिपन्न परिवारहरूले सिरक पाएपछि खुशी व्यक्त गरे। “जाडो कटाउन निकै गाह्रो भइरहेको बेला सिरक पाउँदा धेरै खुशी लाग्यो,” स्थानीयहरूले भने।
वडाध्यक्ष शैलेन्द्र चौधरीले बिपन्न परिवारका लागि सिरक वितरण भएकोमा खुशी व्यक्त गर्दै यसले जाडोयाममा उनीहरूको कठिनाइ कम गर्ने विश्वास व्यक्त गरे। “यो जाडोमा बिपन्न परिवारले राम्रो उपहार पाएका छन्,” उनले भने।
सूर्य ज्योति लाइफ इन्स्योरेन्स कम्पनीद्वारा आयोजित सिरक वितरण कार्यक्रमले बिपन्न परिवारहरूलाई राहत पुर्याएको छ। यस किसिमका कार्यक्रमले सामाजिक उत्तरदायित्व मात्र नभई समुदायप्रतिको सहानुभूति र समर्थनको उदाहरण प्रस्तुत गरेको छ।
