
कपिलवस्तु, माघ १८
प्रहरीले कपिलवस्तुको शिवराज नगरपालिका–१, शिवपुरस्थित होटल हाईवेबाट बिटक्वाइन कारोबारमा संलग्न तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। जिल्ला सुरक्षा योजना अन्तर्गत माघ १७ गते दिउँसो करिब २ बजे वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुको टोलीले Sweep Operation अभियान सञ्चालन गर्ने क्रममा उनीहरूलाई पक्राउ गरिएको हो।
पक्राउ पर्नेहरूमा भारत राजस्थान राज्य जयपुर जिल्लाको गोवरधनधाम लोनियाबासका ३० वर्षीय विजेन्द्र कुमार सैनी, दोसावान्ता कुई ग्रामका २२ वर्षीय मोनु सैनी र सोही स्थानका ३५ वर्षीय नन्दलाल सैनी रहेका छन्। प्रहरीका अनुसार उनीहरू माघ ९ गते देखि उक्त होटलमा कोठा भाडामा लिएर बस्दै आएका थिए।

प्रहरीले होटल हाईवेमा छापा मार्दा उनीहरू MESC Application मार्फत Bitcoin (USDT) जस्ता अभौतिक मुद्राको कारोबार गरिरहेको फेला परेको थियो। उनीहरूबाट २४ थान विभिन्न कम्पनीका मोबाइल फोन, १ थान Dell कम्पनीको ल्यापटप, ६ थान चार्जर र२ थान मल्टिप्लग बरामद गरिएको छ।
पक्राउ परेका तीनै जनालाई मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २२ को दफा २६२(क) बमोजिम “अभौतिक मुद्राको प्रयोग गर्न नहुने” कसुरमा मुद्दा चलाइएको छ। कपिलवस्तु जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
