
कृष्णनगर, फागुन १
कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा इलाका प्रहरी कार्यालय र नगरपालिकाको संयुक्त आयोजनामा “वृहत समुदाय सुरक्षा सचेतना अभियान” शुभारम्भ भएको छ। स्थानीय तह प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सुरु गरिएको यो अभियानले समुदायलाई सुरक्षा सचेतना प्रदान गर्दै अपराध नियन्त्रणमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रम नगर सभाहलमा सम्पन्न भएको हो, जसमा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक निरन्जन दत्त भट्ट, अध्यक्षता नगर प्रमुख रजत प्रताप शाह तथा विशिष्ट अतिथि नगर उपप्रमुख आरती देवी चौधरी, नि. प्रमुख प्रशासकीय अधिकृत शंकर भट्टराई, उद्योग वाणिज्य संघ कृष्णनगरका अध्यक्ष रितेश शर्मा, नेकपा एमाले केन्द्रीय सदस्य सुशील श्रीवास्तव, महिला तथा बालबालिका शाखा प्रमुख थुमा देवी उपाध्याय लगायत अन्य अतिथिहरूको उपस्थिति रहेको थियो।
समुदायको सुरक्षा: साझा दायित्व :
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी निरीक्षक सुरज खत्रीले अपराध नियन्त्रणमा प्रहरी मात्र होइन, सम्पूर्ण समुदायको भूमिका महत्वपूर्णरहने बताए। “हामी गाउँ-गाउँ पुगेर स्थानीयको सहयोगमा सुरक्षा सचेतना जगाउनेछौं। अपराधका विभिन्न प्रकार, रोकथामका उपायहरूबारे जानकारी दिँदै समुदायलाई सजग बनाउनेछौं,” उनले भने।
उनले थप्दै भने, “अब कृष्णनगरमा अपराध गर्नेको मुटु काम्ने वातावरण बनाउनुपर्छ।”
प्रहरी उपरीक्षक भट्टको प्रतिबद्धता :
प्रमुख अतिथि प्रहरी उपरीक्षक निरन्जन दत्त भट्टले स्थानीय समुदायको सहकार्यबिना प्रभावकारी सुरक्षा व्यवस्था सम्भव नरहेको उल्लेख गर्दै जनप्रतिनिधि, संघसंस्था, शिक्षक, अभिभावक र समाजका अगुवाहरू सबैको हातेमालो आवश्यक रहेको बताए।

“प्रहरी जनताको सेवामा समर्पित छ। हाम्रो उद्देश्य समाजलाई सुरक्षित बनाउनु हो, तर यसका लागि स्थानीयस्तरमा सबैको सहयोग जरुरी छ।” – प्रहरी उपरीक्षक भट्ट
नगरपालिकाको सुरक्षामा सक्रिय भूमिका :
कार्यक्रमका अध्यक्ष नगर प्रमुख रजत प्रताप शाहले खुला सिमाना सुरक्षा चुनौती भएको उल्लेख गर्दै लागुऔषध दुव्र्यसन, मानव तस्करीजस्ता अपराधहरूको गम्भीर अध्ययन गर्नुपर्ने बताए।
“समाजमा अझै केही कुरीतिहरू छन्, जसलाई शिक्षाको माध्यमबाट हटाउनुपर्छ। भयमुक्त समुदाय निर्माणका लागि सबैले आफ्नो कर्तव्य पूरा गर्नुपर्छ।” – नगर प्रमुख शाह
उनले नगरपालिका सुरक्षा अभियानमा गम्भीरतापूर्वक लाग्ने बताउँदै स्थानीयस्तरमा सुरक्षा योजना निर्माण र कार्यान्वयन गर्नुपर्नेमा जोड दिए।
सुरक्षामा प्रविधिको भूमिका: व्यवसायीहरूको कदम :
होटल तथा पर्यटन व्यवसायी संघ कृष्णनगरका अध्यक्ष शिवा घिमिरेले सुरक्षाका लागि प्रविधि प्रयोग गरिएको जानकारी गराउँदै, होटल व्यवसायीहरूले CCTV क्यामरा जडान गरी शंकास्पद गतिविधि प्रहरीलाई जानकारी गराउने अभ्यास सुरु गरेको बताए।
“हामीले सुरक्षा प्रविधिलाई महत्व दिएका छौं। हाम्रो उद्देश्य समाजलाई सुरक्षित बनाउनु हो।” – अध्यक्ष घिमिरे
समुदायको सक्रिय सहभागिता :
कार्यक्रममा प्रहरी, शिक्षक, होटल व्यवसायी, विभिन्न संघसंस्थाका प्रतिनिधि, जनप्रतिनिधि तथा स्थानीय सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति थियो।
सचेतना अभियानले स्थानीय समुदायलाई सुरक्षा संवेदनशील बनाउने विश्वास गरिएको छ। कृष्णनगरलाई सुरक्षित नगर बनाउन यस्ता अभियानलाई निरन्तरता दिनुपर्नेमा सरोकारवालाहरू एकमत देखिए।

