
कपिलवस्तुको बाणगंगा नगरपालिका–४ जितपुरबाट स्रोत नखुलेको २८ लाख ९० हजार रुपैयाँसहित चार जना पक्राउ परेका छन्।
इलाका प्रहरी कार्यालय पिपराका अनुसार गोप्य सूचनाका आधारमा गरिएको निगरानीपछि बिहीबार केसी फेन्सीको अन्डरग्राउन्ड गोदामबाट चार जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा अर्घाखाँची सन्धीखर्क–५ का गोविन्द बिक, कपिलवस्तुको मायादेवी गाउँपालिका–८ का सोमनाथ कसौधन, बुटवल उपमहानगरपालिका–१६ का बसन्त खरेल र कपिलवस्तु नगरपालिका–११ का शेषनारायण गिरी रहेका छन्।
प्रहरीले गोविन्द बिकको साथबाट १४ लाख ४० हजार र सोमनाथ कसौधनको साथबाट १४ लाख ५० हजार रुपैयाँ बरामद गरेको हो। पक्राउ परेका चारै जनालाई थप अनुसन्धानका लागि प्रहरी हिरासतमा राखिएको छ।

बरामद गरिएको रकम भारतीय र नेपाली नोटमा रहेको बताइएको छ। स्रोत नखुलेको रकम आन्तरिक राजस्व कार्यालय रुपन्देहीमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
