
शहबाज खान , फाल्गुन २३
कपिलवस्तुको कृष्णनगरमा “नाइट क्रिकेट टूर्नामेन्ट – सीजन २” आगामी चैत्र २३ गते (५ अप्रिल २०२५) देखि सुरु हुँदैछ। जय नेपाल स्पोर्ट्स क्लबद्वारा आयोजित यो प्रतियोगिता रानी ग्राउण्ड, कृष्णनगर–२ मा हुने छ। खेलकुदलाई प्रवर्द्धन गर्दै युवा खेलाडीहरूलाई अवसर प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको यो प्रतियोगिता नेपाली टोलीहरूका लागि मात्र खुला गरिएको छ। २१ वर्षमुनिका खेलाडीहरूले अनिवार्य रूपमा नागरिकता प्रमाणपत्र बुझाउनुपर्ने नियम राखिएको छ।
प्रत्येक खेल १२ ओभर को हुनेछ भने इन्ट्री शुल्क रु. ८५०० तोकिएको छ। खेलाडीहरूले अनिवार्य रूपमा ट्र्याकसुट र जुत्ता लगाउनुपर्नेनियम लागू गरिएको छ। सहभागी टोलीहरूले पहिलो खेलअघि नै १५ खेलाडीको नाम र फोटो बुझाउनुपर्ने छ। खेलका क्रममा यमपायरको निर्णय अन्तिम मानिनेछ। विजेता टोलीलाई रु. १,३१,००० तथा उपविजेता टोलीलाई रु. ६५,००० प्रदान गरिनेछ। व्यक्तिगत विधामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई समेत नगद पुरस्कार प्रदान गरिनेछ।

जय नेपाल स्पोर्ट्स क्लबले इच्छुक टोलीहरूलाई समयमै दर्ता गराउन अनुरोध गरेको छ, ताकि प्रतियोगिता व्यवस्थित रूपमा सञ्चालन गर्न सकियोस्। प्रतियोगितालाई सफल बनाउन रजत प्रताप शाह (संरक्षक) तथा अन्य खेलप्रेमीहरूको सक्रिय सहभागिता रहनेछ।
कृष्णनगरका खेलप्रेमीहरूका लागि यो प्रतियोगिता रोमाञ्चक क्षणहरू प्रदान गर्ने अपेक्षा गरिएको छ। खेलाडीहरूका लागि यो उत्कृष्ट अवसर भएकाले दर्ता प्रक्रिया चाँडो पूरा गर्न आयोजकले आग्रह गरेको छ।
