
कपिलवस्तुको मायादेवी गाउँपालिकामा कर्मचारीहरूको लापरवाही र आर्थिक अनियमितता बढ्दै गएको छ। गैर-जिम्मेवार तथा लापरवाह कर्मचारीलाई नै महत्वपूर्ण जिम्मेवारी दिइँदा स्थानीयहरू असन्तुष्ट भएका छन्। सूचना प्रविधि अधिकृत रामचन्द्र चौधरीलाईसूचना तथा प्रविधि शाखासँगै योजना शाखाको पनि प्रमुख बनाइएको छ। चौधरीमाथि विगतदेखि नै आर्थिक अनियमितताको आरोप लाग्दै आएको भए पनि उनलाई झनै बढी जिम्मेवारी दिनु स्वार्थपूर्ण निर्णय भएको स्थानीयको आरोप छ।
गाउँपालिकाको आधिकारिक वेबसाइट विगत दुई वर्षदेखि अद्यावधिक गरिएको छैन। जनप्रतिनिधिहरू परिवर्तन भइसके पनि वेबसाइटमा अझै पुराना पदाधिकारीहरूको नाम र सम्पर्क नम्बर देखिन्छ। सूचना प्रविधि शाखा प्रमुखको जिम्मेवारी वेबसाइट र फेसबुक पेजमार्फत सूचनाहरू अद्यावधिक गर्नु हो, तर चौधरीले त्यसमा लापरवाही गर्दै आएको गुनासो छ।
सूचना प्रवाहमा समेत गम्भीर लापरवाही देखिएको छ। स्थानीय तहसँग जानकारी माग्दा पूर्ण रूपमा सूचना नदिने, दिए पनि अधुरो दिने प्रवृत्ति बढ्दै गएको छ। सुशासनका लागि कार्यरत अभियन्ताहरूले पटक–पटक सूचना मागे पनि पालिकाले कुनै ठोस जानकारी उपलब्ध गराएको छैन।

चौधरीमाथि आर्थिक अनियमितताको आरोप पनि गम्भीर छ। आर्थिक वर्ष २०७९/८० मा डिजिटल सूचना बोर्ड जडान गर्ने योजना थियो। एक व्यापारीले काम गर्न प्रस्ताव गर्दा चौधरीले ४०% कमिशन मागेको खुलेको छ। व्यापारीले घूस दिन अस्वीकार गरेपछि योजना अर्कैलाई दिन खोजिएको आरोप छ।

गैर-जिम्मेवार र अनियमितता गर्ने कर्मचारीलाई झन् महत्वपूर्ण जिम्मेवारी दिनु सुशासनमाथि ठाडो प्रहार भएको स्थानीयको भनाइ छ। जनताको करबाट तलब खाने कर्मचारीले उत्तरदायी भएर काम गर्नुपर्नेमा, उल्टै यस्ता कर्मचारीलाई पुरस्कृत गर्नु भ्रष्टाचारलाई मलजल गर्ने काम हो। स्थानीयवासीले यस विषयमा सम्बन्धित निकायले छानबिन गरी कारबाही गर्नुपर्ने माग गरेका छन्।
