
अर्घाखाँची: नेपाली कांग्रेस सन्धिखर्क नगरपालिकाको पालिका सम्मेलनले नेपाललाई लोकतान्त्रिक गणतन्त्रसहितको हिन्दुराज्य बनाउनु पर्ने माग अघि सारेको छ। सम्मेलनमा गणतान्त्रिक हिन्दुराज्यको प्रस्ताव प्रस्तुत गरी सर्वसम्मतिले पारित गरिएको नगर सभापति बाबुराम भुसालले जानकारी दिए।
पालिका सम्मेलनको उद्घाटन नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री विष्णुप्रसाद खनाल (मुस्कान) ले गरेका थिए। उनले लोकतान्त्रिक गणतन्त्र विभिन्न आन्दोलन र संघर्षबाट प्राप्त उपलब्धि भएको भन्दै यसको रक्षा आवश्यक रहेको बताए। साथै, पछिल्लो समय गणतन्त्र माथि विभिन्न तवरबाट प्रहार भइरहेकाले कांग्रेस त्यसको संरक्षणमा दृढ रहनुपर्ने उनको भनाइ थियो। उनले भने, “नेपाली जनताको लामो संघर्ष र बलिदानीबाट प्राप्त लोकतान्त्रिक गणतन्त्रको रक्षा गर्नु हाम्रो कर्तव्य हो। तर, बहुसंख्यक नेपालीको मागअनुसार हिन्दुराज्य पुनःस्थापना गर्न कांग्रेसले अब यो विषयमा दृढ अडान लिनु पर्छ।”

पालिका सम्मेलनमा नेपाली कांग्रेसका प्रदेश सदस्य शान्ता भण्डारी, जिल्ला उपसभापति विष्णुप्रसाद भुसाल, महासमिति सदस्य मणिराम परियार, महाधिवेशन प्रतिनिधि नन्दराम भट्टराई, छमा कार्की, जिल्ला सदस्य लिलाराम गौतम, लिलाधर बस्याल, अर्घाखाँची काठमाडौं सम्पर्क समितिका किरण पोख्रेल, वडा अध्यक्ष हुमप्रसाद बन्जाडे, वडा सभापति मुक्तिराम भण्डारी, नेपाल तरुण दलका जिल्ला अध्यक्ष नारायण खड्का, नेविसंघका जिल्ला अध्यक्ष कृष्णप्रसाद भुसाल, रामबहादुर परियार लगायतले मन्तव्य राखेका थिए।
पालिकाको सम्मेलन नगर सभापति बाबुराम भुसालको अध्यक्षता, तुल्सीराम पौडेलको स्वागत तथा कृष्णबहादुर आचार्यको सञ्चालनमा सम्पन्न भएको थियो।
