
चितवन, शनिबार — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य तथा सांसद हरि ढकालले पार्टी सभापति रवि लामिछानेको भनिएको ‘अन्तिम इच्छा’ सार्वजनिक गरेका छन्। शनिबार चितवनबाट सुरू भएको रास्वपाको ‘जनयात्रा’ शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै ढकालले लामिछानेका अभिप्रायहरूलाई ‘अन्तिम इच्छा’को रूपमा प्रस्तुत गरे।
उनले भने, “यो देशका किसानको अनुहारमा हाँसो ल्याउनु, युवाको विदेश पलायन रोकी स्वदेशमै रोजगारी सिर्जना गर्नु, दलीयकरण र भ्रष्टाचारविरुद्ध सशक्त आवाज उठाएर विधिको शासन स्थापनाका लागि लाग्नु, र ३५ वर्ष देश लुट्नेहरूलाई कारबाही गर्दै जेलभित्रै न्यायको अनुभूति गराउनु — यिनै छन् रवि लामिछानेको अन्तिम इच्छाहरू।”
ढकालले लामिछानेलाई गए राति पक्राउ गर्न पुगेका प्रहरी टोलीमाथि पनि प्रश्न उठाए। उनका अनुसार प्रहरीले ‘तपाईंको अन्तिम इच्छा के हो?’ भन्ने शैलीमा प्रश्न गरेका थिए, जसलाई उनले अमर्यादित र अनुचित ठहर गरे।

“प्रहरीले यस्तो शैलीमा व्यवहार गर्नु लोकतान्त्रिक देशमा स्वीकार्य हुँदैन,” उनले भने, “अपराध आरोप प्रमाणित नहुनुअघि नै यस्तो व्यवहार प्रश्न उठाउने खालको हो।”
यस घटनाले सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म आलोचना निम्त्याएको छ। लामिछानेको गिरफ्तारी प्रक्रिया, प्रहरीको प्रस्तुति शैली र त्यसमा उठेका प्रश्नहरू अहिले बहसको विषय बनेका छन्। जनयात्राको शुरुवातमै यस्तो प्रसंग उठाइएपछि रास्वपाको आन्दोलनको लय अझ तिव्र हुने संकेत देखिएको छ।
