
फुङ्लिङ, ताप्लेजुङ । ताप्लेजुङ सदरमुकाम फुङ्लिङबाट पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बलेरो गाडीमा आगलागी हुँदा चार जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन्। फुङ्लिङ नगरपालिका–१० स्थित सेवारोचोकमा आइतबार बिहान करिब ५ बजे मे १ च ३०११ नम्बरको गाडीमा अचानक आगलागी भएको हो।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सूचना अधिकारी विवेक बस्नेतका अनुसार, गाडीमा सवार ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका–१५ निवासी ७० वर्षीय विनोद पौडेल, उनकी ६९ वर्षीया श्रीमती सरिता पौडेल र गाडी चालक फुङ्लिङ नगरपालिका–१० का ४२ वर्षीय दुर्गा भट्टराईको ज्यान गएको छ।
सोही गाडीमा रहेका ललितपुरकी ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य घाइते भएका छन्। उनीहरूको जिल्ला अस्पताल ताप्लेजुङमा उपचार भइरहेको छ।

प्रारम्भिक अनुसन्धानअनुसार सडक छेउको विद्युत् पोलबाट चुँडिएको तार बलेरो गाडीमा अल्झिँदा आगलागी भएको अनुमान गरिएको छ। आगलागीको खबर प्राप्त हुनासाथ प्रहरी निरीक्षक रवि रावलको नेतृत्वमा १५ सदस्यीय टोली तत्काल घटनास्थलमा पुगेर उद्दार कार्य थालेको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ।
