
अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका–७ सुपादेउराली मन्दिर नजिकैको झोलुङ्गे पुलको तलपट्टी आज बिहान एक २२ वर्षीय युवकको शव फेला परेको छ। मृतक कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका–९ निवासी अनिल बादी रहेको पुष्टि भएको छ।
प्राप्त जानकारीअनुसार, अनिल बादी यही २०८२ साल वैशाख १४ गते बिहान ९ बजे “सुपादेउराली दर्शन गर्न जान्छु” भन्दै घरबाट हिँडेका थिए। त्यसपछि उनी परिवारको सम्पर्कमा आएका थिएनन्। बेपत्ताको भोलिपल्ट वैशाख १५ गते उनकी दिदीले प्रहरी चौकी नरपानी, अर्घाखाँचीमा मौखिक रूपमा जानकारी गराएकी थिइन्।
बेपत्ता भएको सूचना पाएपछि प्रहरी सक्रिय भएको थियो। आज बिहान खोजतलासका क्रममा सुपादेउराली मन्दिरको माथिल्लो भागमा रहेको झोलुङ्गे पुलको तलतिर उनको शव फेला परेको हो। घटनास्थलमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको निर्देशनमा इलाका प्रहरी कार्यालय ठाडाबाट प्रहरी निरीक्षक रविन्द्र चन्दको नेतृत्वमा SOCO टोलीसहित ७ जनाको प्रहरी समूह परिचालन गरिएको थियो।

प्रहरीका अनुसार शव भेटिएको स्थानको मुचुल्का उठाइएको छ र घटनाको विस्तृत अनुसन्धान सुरु गरिएको छ। शव परीक्षणका लागि अस्पताल पठाउने प्रक्रिया अघि बढाइएको छ। प्रारम्भिक रूपमै मृत्युको कारण खुल्न नसकेको भए पनि आत्महत्या वा दुर्घटनाको कोणबाट अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयहरूका अनुसार उक्त स्थान गहिरो भिरालो क्षेत्र हो, जहाँबाट खस्दा गम्भीर चोट लाग्ने सम्भावना हुन्छ। यद्यपि, के अनिल बादीले आत्महत्या गरेका हुन् वा दुर्घटनावश लडेर मृत्यु भएको हो भन्ने विषयमा पुष्टि हुन बाँकी छ।
प्रहरी स्रोतले घटनाबारे थप विवरण संकलन भइरेको जानकारी दिएको छ भने मृतकका परिवारजनसँग पनि सोधपुछ भइरहेको छ। सामाजिक सञ्जालमा घटनाले चासो बढाएको छ भने स्थानीय तहमा पनि सुरक्षा सतर्कता अझ कडा पारिएको छ।
