
काठमाडौं, जेठ १० – नेपाल प्रहरीले देशमा लागुऔषधको समस्या विकराल रूप लिँदै गएको भन्दै यसको न्यूनीकरणका लागि सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औंल्याएको छ।
शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) रमेश थापाले लागुऔषध अहिले देशको साझा समस्या बनेको स्पष्ट गर्नुभयो। उहाँका अनुसार विशेष गरी युवा पुस्ता लागुऔषधको दुर्व्यसनमा फसिरहेको र यसले उनीहरूको भविष्य अन्धकारमय बनाइरहेको छ।
“हाम्रो समाज लागुऔषधको समस्याबाट गम्भीर रूपमा आक्रान्त छ,” एसएसपी थापाले भन्नुभयो, “युवाहरू दुर्व्यसनको शिकार बनेका छन्, जसले मुलुकको समुन्नति, विकास र भविष्य निर्माणमा अवरोध पैदा गरिरहेको छ।”
प्रवक्ताका अनुसार हाल करिब ८० प्रतिशत युवा यो समस्याबाट प्रत्यक्ष या अप्रत्यक्ष रूपमा प्रभावित छन्। उहाँले लागुऔषध दुर्व्यसनका विरुद्ध कार्यक्रमहरू सञ्चालन गर्न सबै तह र तप्काबाट पहल आवश्यक रहेको बताउनुभयो।

थापाका अनुसार यो समस्याका कारण ठूलो परिमाणमा धनराशि नेपाल बाहिर गइरहेको छ, जुन राष्ट्रिय अर्थतन्त्रका लागि पनि गम्भीर चुनौती हो। यस सन्दर्भमा नेपाल प्रहरीले मात्रै नपुग्ने भन्दै उहाँले नागरिक समाज, सरोकारवाला निकाय र सम्पूर्ण समुदायलाई रचनात्मक सहयोग गर्न आह्वान गर्नुभयो।
प्रवक्ता थापाले नेपाल प्रहरीमा हाल १८ हजार थप जनशक्तिको खाँचो रहेको जानकारी दिनुभयो। उहाँका अनुसार हाल प्रहरीका ७९१ इकाइको आफ्नै भवन छैन भने आवश्यक जनशक्तिको संख्या २७ हजार ७८८ रहेको छ।
उहाँले प्रहरीको सञ्चालन प्रणालीबारे जानकारी दिंदै दैनिक रूपमा ४२६ वटा सवारी गस्ती, ६०९ स्थानमा चेकिङ तथा ११६८ वटा पिकेट कार्यरत रहेको जानकारी दिनुभयो।
