
नेपालको सार्वजनिक ऋण साढे २६ खर्ब नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार ३१ जेठ २०८२ सम्म कुल ऋण २६ खर्ब ५४ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ ।
वैशाखसम्म यो रकम २६ खर्ब २२ अर्ब ४० करोड थियो । चालू आवको ११ महिनामा सरकारले ४ खर्ब १४ अर्ब १९ करोड ऋण लिएको छ ।
विनिमय दरको उतारचढावले ऋणभारमा ७३ अर्ब रुपैयाँको थप भएको छ । सो अवधिमा २ खर्ब ६६ अर्ब ६५ करोड भुक्तानी गरिएको छ । त्यसअनुसार ११ महिनामा खुद ऋण वृद्धि २ खर्ब २० अर्ब ५८ करोड बराबर भएको छ ।

गत आवको अन्त्यमा ऋण २४ खर्ब ३४ अर्ब ९ करोड थियो । ११ महिनामा आन्तरिक ऋण १२ खर्ब ७२ अर्ब पुगेको छ, जुन कुल गार्हस्थ उत्पादन (जीडीपी) को २२.३१ प्रतिशत हो ।
बाह्य ऋण १३ खर्ब ८२ अर्ब रहेको छ, जुन जीडीपीको २४.२३ प्रतिशत हो । कुल सार्वजनिक ऋण जीडीपीको ४३.४७ प्रतिशत हाराहारी पुगेको छ ।
