
काठमाडौं — हाल देशका विभिन्न भूभागमा वर्षा जारी रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा मध्यमदेखि भारी वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौं उपत्यकामा हल्का वर्षा भइरहे पनि कोशी, गण्डकी र लुम्बिनीका थोरै स्थानमा ठूलो पानी परिरहेको छ।
महाशाखाकी मौसमविद् प्रतिभा मानन्धरका अनुसार खोटाङ, दोलखा, कास्की, लमजुङ र प्यूठानमा मध्यमदेखि भारी वर्षा मापन भएको छ। उनले राति लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा समेत ठूलो पानी पर्ने सम्भावना रहेको बताउँदै ती क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेकी छन्।
यसैबीच, बाढी पूर्वानुमान महाशाखाले देशका केही नदीहरूको जलसतह सतर्कता तह नजिक वा माथि पुगेको जनाउँदै सतर्कता अपनाउन अनुरोध गरेको छ।

बागमती नदीको गौरीघाट जलमापन केन्द्रमा जलसतह सतर्कता तह आसपास पुगेको छ भने, प्यूठानको हंशपुर जलमापन केन्द्रले पश्चिम राप्ती नदीको बहावले सतर्कता तह पार गरिसकेको जनाएको छ। यस्तै, अर्घाखाँचीस्थित राङसिङ जलमापन केन्द्रमा पनि जलसतह सतर्कता सीमा नाघेको महाशाखाले जनाएको छ।
मौसम तथा बाढी सम्बन्धी जोखिम बढ्दै गइरहेकोले नदी किनार तथा जलस्रोत नजिकका बासिन्दालाई सावधानी अपनाउन अनुरोध गरिएको छ।
