धानचामल आयातमा उच्च वृद्धि, ११ महिनामै ३९ अर्ब नाघ्यो

0
Quantam abroad studies

नेपालले चालू आर्थिक वर्षका ११ महिनामा (साउनदेखि जेठ मसान्तसम्म) करिब ३८ अर्ब ९४ करोड रुपैयाँ बराबरको धानचामल आयात गरेको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा १७ अर्ब ८२ करोड रुपैयाँले बढी हो।

गत वर्ष यस अवधिमा २१ अर्ब १२ करोड रुपैयाँ बराबरको मात्र धानचामल आयात भएको थियो। मन्त्रालयका अनुसार मासिक औसत ३ अर्ब रुपैयाँभन्दा बढीको धानचामल आयात भइरहेको छ। असार मसान्तसम्म अझै करिब ३ अर्बको आयात हुने अनुमान गरिएको छ, जसले यो वर्षको कुल आयात ४२ अर्ब नाघ्ने देखिन्छ।

विशेषतः चामलतर्फ हेर्दा, चालू आर्थिक वर्षको ११ महिनामा मात्र १७ अर्ब ७८ करोड रुपैयाँ बराबरको चामल आयात भएको छ, जबकि गत वर्ष यसै अवधिमा यो संख्या १२ अर्ब ४३ करोड रुपैयाँ थियो।

उत्पादन र मागबीच असन्तुलन

नेपालमा बार्षिक झन्डै ७० लाख मेट्रिक टन धानको माग रहँदै आएको छ। तर स्वदेशमै उत्पादन हुने धान करिब ६० लाख मेट्रिक टन मात्र हो, जसका कारण झन्डै १० लाख मेट्रिक टन धान वा चामल आयात गर्नुपर्ने अवस्था छ।

विशेषज्ञहरूका अनुसार आयात नियन्त्रण गर्न स्थानीय उत्पादन बढाउनुपर्ने अपरिहार्य देखिएको छ। त्यसका लागि सरकारले किसानलाई समयमै मल, बीउ, सिँचाइ सुविधा, प्राविधिक सहयोग र आर्थिक अनुदानको सुनिश्चितता गर्नुपर्ने देखिएको छ।

sahani furniture udyog

व्यापार घाटा थप चुलिने संकेत

धानचामलजस्ता अत्यावश्यक वस्तुको बढ्दो आयातले नेपालको व्यापार घाटा झनै नकारात्मक बन्ने संकेत देखिएको छ। यो प्रवृत्ति निरन्तर बढिरहे विदेशी मुद्राको दबाब, स्वदेशी उत्पादनमाथिको विस्थापन, र आर्थिक असन्तुलन अझै गहिरिँदै जानसक्ने अर्थशास्त्रीहरूको चिन्ता छ।

धानचामलको आयातमा अत्यधिक वृद्धि हुनु कृषिमा दिगो नीति निर्माण र कार्यान्वयनको कमजोरी देखाउने संकेत हो। आगामी वर्षमा आयात घटाउन उत्पादन वृद्धिमा जोड दिँदै किसानमाथि केन्द्रित प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने आवश्यकता थप प्रष्ट हुँदै गएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.