सुठौली भन्सारमा १०० टन क्षमताको धर्मकाटा निर्माण, साउन १ गतेदेखि सञ्चालनमा

0
Quantam abroad studies

कपिलवस्तु — सुठौली भन्सार हुँदै व्यवसाय सञ्चालन गर्ने सम्पूर्ण व्यापारीहरूका लागि सुखद खबर आएको छ। अबदेखि भन्सार परिसरभित्रै आधुनिक सुविधासम्पन्न धर्मकाटाबाट मालवाहक सवारी साधनको तौल गरिने भएको छ।

सुठौली भन्सार कार्यालयका प्रमुख नारायण गैरेका अनुसार १०० टन भारसम्मको मालवाहक सवारी साधन तौल गर्न सक्ने क्षमतायुक्त धर्मकाटाको निर्माण सम्पन्न भइसकेको छ। निर्माण कार्य शिवम कन्स्ट्रक्सन कम्पनीमार्फत करिब ४३ लाख रुपैयाँको लागतमा सम्पन्न गरिएको हो।

भन्सार परिसरमै निर्माण गरिएको यस धर्मकाटा आगामी साउन १ गतेदेखि सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रमुख गैरेले जानकारी दिए। उनका अनुसार, यसबाट अब व्यापारीहरूले बाह्य धर्मकाटामा जानुपर्ने झन्झट हट्नेछ र समय तथा खर्चको समेत बचत हुनेछ।

“भन्सार क्षेत्रमा व्यापार सहज बनाउँदै लैजाने हाम्रो योजनाअनुरूप धर्मकाटा स्थापना गरिएको हो,” गैरेले भने, “अब तौल प्रक्रिया थप पारदर्शी र व्यवस्थित हुनेछ।”

sahani furniture udyog

यसअघि व्यापारी हबीबुल्ला मियाँले निजी लगानीमा निर्माण गरेको धर्मकाटाबाट भाडा तिर्ने सर्तमा तौल गर्ने व्यवस्था थियो। तर अब सरकारी स्वामित्वमा बनेको धर्मकाटा सञ्चालनमा आएपछि व्यापारीहरूलाई झन् सहज हुने विश्वास लिइएको छ।

व्यापारीहरूबीच समेत यस निर्णयको स्वागत गरिएको छ। “सरकारी धर्मकाटा संचालनमा आउँदा पारदर्शिता, समय बचत र अनावश्यक खर्च कटौती हुनेछ,” एक स्थानीय व्यापारीले प्रतिक्रिया दिए।

सुठौली भन्सार हुँदै दैनिक सयौं टन सामानको आयात–निर्यात हुने गर्दछ। यस्तो अवस्थामा आफ्नै धर्मकाटाको निर्माणले भन्सारको सेवा क्षमता र दक्षता बढाउने अपेक्षा गरिएको छ।

sahani furniture udyog
Leave A Reply

Your email address will not be published.