
अबुधाबीस्थित नेपाली राजदूतावासले वैधानिकीकरण श्रम स्वीकृति सेवा आगामी भदौ २ गतेदेखि नियमित रूपमा सुरु गर्ने भएको छ। यो सुविधा सन् २०२४ सेप्टेम्बर ३० भित्र रोजगारी भिसा प्राप्त गरी अबुधाबी इमिरेट्समा कार्यरत नेपालीका लागि मात्र लागू हुनेछ।
सेवा सोमबारदेखि शुक्रबार अपराह्न २–३ बजे उपलब्ध हुनेछ भने अन्य इमिरेट्सका श्रमिकका लागि पछि छुट्टै सूचना जारी गरिनेछ। आवेदन अनलाइनमार्फत पेस गर्नुपर्नेछ, जसका लागि राहदानी (कम्तीमा ३ महिना म्याद बाँकी), युएई भिसा वा इमिरेट्स आइडी, जीवन बीमा, सामाजिक सुरक्षा कोष तथा वैदेशिक रोजगार बोर्डको कोष जम्माको प्रमाणपत्र, र कम्पनीसँगको करार सम्झौता अनिवार्य छन्।

आवेदनपछि भिसाको आधिकारिकता, प्रकृति, जारी तथा अन्त्य मिति जाँच गरिनेछ र आवश्यक परे थप कागजात मागिनेछ। फोटो, आँखाको फोटो (आईरिस स्क्यान) वा औँठाछाप (फिङ्गरप्रिन्ट) समेत अनिवार्य रूपमा लिइने दूतावासले जनाएको छ।
