
कपिलवस्तु ।
कपिलवस्तु प्रहरीले पछिल्लो एक महिनामा फरार रहेका ३० जना प्रतिवादीलाई पक्राउ गरेको छ। यी सबैलाई विभिन्न मुद्दामा अदालतले दोषी ठहर गरेको थियो तर उनीहरू वर्षौंसम्म सजाय भुक्तान नगरी फरार रहेका थिए।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंहका अनुसार पक्राउ परेकामध्ये २४ जना पुरुष र ६ जना महिला छन्। अदालतको फैसलाअनुसार उनीहरूबाट करिब ६ वर्ष ३ महिना २ दिन बराबर कैद सजाय कार्यान्वयन हुने छ भने ३ लाख १२ हजार रुपैयाँभन्दा बढी जरिवाना असुल हुनेछ।
प्रहरीका अनुसार फरार अभियुक्तलाई पक्रन चुनौतीपूर्ण भए पनि निरन्तर निगरानी, सूचनाको आदानप्रदान र सामुदायिक सहयोगका कारण अभियान सफल भएको हो।
लागुऔषध नियन्त्रण र राजश्व असुली
साउन महिनाभर प्रहरीले १३ ग्रामभन्दा बढी ‘ब्राउन सुगर’ बरामद गरेको छ। यस सम्बन्धमा ४ वटा मुद्दा दर्ता गरेर ६ जनालाई पक्राउ गरिएको डीएसपी सिंहले बताए। साथै विभिन्न स्थानमा गरिएको सवारी साधन जाँचबाट मात्र २ लाख ७० हजार रुपैयाँ राजश्व संकलन भएको छ।

आत्महत्यामा वृद्धि, प्रहरीको चिन्ता
तर, अपराध नियन्त्रणका यी सफलताबीच कपिलवस्तुमा अर्को गम्भीर समस्या देखिएको छ— आत्महत्याका घटना। एक महिनामै १२ जनाले आत्महत्या गरेका छन्। “यो संख्या निकै उच्च छ, समुदायमा मनोसामाजिक समस्या बढ्दै गएको संकेत हो,” प्रवक्ता सिंहले बताए। प्रहरीका अनुसार आत्महत्या रोकथामका लागि परिवार, समाज र सरकारी निकायबीच सहकार्य र सचेतना अभियान आवश्यक देखिएको छ।
जिल्ला प्रहरी कार्यालयले अपराध नियन्त्रणका साथै सामाजिक समस्या न्यूनीकरणमा पनि समुदायसँगै काम गर्न तयार रहेको जनाएको छ। प्रहरीले सर्वसाधारणलाई अवैध गतिविधि, लागुऔषध कारोबार वा आत्मघाती प्रवृत्ति देखिए तत्काल नजिकैको प्रहरी कार्यालयलाई खबर गर्न आग्रह गरेको छ।
