कारबाहीमा उत्रियो कृष्णनगर नगरपालिका

0
Quantam abroad studies

कपिलवस्तुको प्रमुख व्यापारिक केन्द्र कृष्णनगर बजारलाई सफा र व्यवस्थित बनाउन कृष्णनगर नगरपालिकाले फोहर व्यवस्थापनमा कठोर कदम चाल्न थालेको छ। बजार क्षेत्रमा जथाभावी फोहर फाल्ने क्रम बढ्दै जाँदा वातावरण दुर्गन्धित र बजारको सौन्दर्य बिग्रिन थालेपछि नगरपालिकाले साउन २८ गतेदेखि विशेष कारबाही अभियान सुरु गरेको हो।

मेयर रजत प्रताप शाहका अनुसार दैनिक रुपमा ट्र्याक्टरमार्फत फोहर सङ्कलन गर्ने र सरसफाइकर्मी परिचालन गर्ने व्यवस्था नगरपालिकाले पहिले नै गरेको भए पनि अटेर गरी बाटो, नाली र सार्वजनिक स्थलमै फोहर फाल्ने बानी रोक्न बाध्य भएर यो अभियान सुरु गरिएको हो।

नगर राजस्व शाखा प्रमुख ईश्वरी पौडेलका अनुसार अभियान सुरु भएको एक साताभित्रै ३१ जनामाथि कारबाही गरी करिब २६ हजार रुपैयाँ जरिवाना असुल गरिएको छ। कार्यविधिअनुसार पहिलो पटक ५ सयदेखि १ हजार रुपैयाँसम्म जरिवाना तोकिएको छ भने पुनः उल्लङ्घन गर्नेले दोब्बर जरिवाना तिर्नुपर्ने व्यवस्था गरिएको छ।

बजार क्षेत्रमा अनुगमनलाई थप प्रभावकारी बनाउन हाल ६ जना नगर प्रहरी समेत खटाइएका छन्। नगरपालिकाले फोहर व्यवस्थापन कार्यविधि २०७५ अनुसार कडाइ गर्दै जाँदा अहिले बजार पूर्वभन्दा सफा देखिएको व्यापारीहरूको प्रतिक्रिया छ। उनीहरूका अनुसार नगरपालिकाले थालेको यो अभियानमा व्यवसायी र स्थानीय दुवै पक्षले साथ दिन जरुरी छ।

sahani furniture udyog

यस्तै सार्वजनिक स्थलमा फोहर गर्ने कवाड व्यवसायीलाई समेत चेतावनी दिँदै नगरपालिकाले व्यवस्थित ढङ्गले सामान राख्न र सरसफाइमा ध्यान दिन आग्रह गरेको छ। नियम उल्लङ्घन गर्ने व्यवसायीलाई न्यूनतम ५ हजार रुपैयाँसम्म जरिवाना तिराउने चेतावनी नगरपालिकाले दिएको छ।

पहिलो चरणमा कृष्णनगर र बहादुरगञ्ज बजारलाई लक्षित गरी सुरु गरिएको यो अभियानलाई क्रमशः अन्य सहरी क्षेत्रसम्म विस्तार गरिने मेयर शाहले जानकारी दिए। नेपाल–भारत सीमावर्ती व्यापारिक केन्द्रका रूपमा परिचित कृष्णनगर क्षेत्रमा आन्तरिक राजस्व कार्यालय, विद्युत्, खानेपानी लगायतका कार्यालयसमेत भएकाले नगरपालिकाले यसलाई स्वच्छ र हराभरा बनाउन प्राथमिकताका साथ अभियान अघि बढाएको हो।

Kapilvastu Technical Institute
Leave A Reply

Your email address will not be published.