
काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले ‘हाम्रो पात्रो’माथि लगाइएको प्रतिबन्ध फुकुवा गर्ने तयारी गरेको छ। सामाजिक सञ्जाल सूचीकरण प्रक्रिया पूरा भएपछि प्रतिबन्ध हटाउने निर्णय गरिएको हो।
बिहीबार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा बसेको बैठकले सूचीकरण नगरेका २६ सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएको थियो। त्यसमा ‘हाम्रो पात्रो’ पनि समावेश थियो।

प्रतिबन्धपछि कम्पनीका प्रतिनिधिले मन्त्रालयमा सम्पर्क गरी आवश्यक कागजात बुझाएका थिए। सुरुमा कागजात अपूर्ण रहेको भन्दै मन्त्रालयले थप विवरण मागेको थियो। हाल भने सबै कागजात उपलब्ध गराइएपछि प्रतिबन्ध फुकुवाको तयारी अन्तिम चरणमा पुगेको हो।
मन्त्रालयका प्रवक्ता गजेन्द्र कुमार ठाकुरका अनुसार आवश्यक विवरण पेस भएपछि ‘हाम्रो पात्रो’को सूचीकरण प्रक्रिया पूरा भएको छ। अब मन्त्रालयले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरी प्रतिबन्ध हटाउने कार्य अघि बढाउने तयारी गरेको छ।
