
काठमाडौँ । नवनियुक्त अर्थमन्त्री डा. रामेश्वर खनालले पदभार ग्रहणसँगै खर्च कटौतीको सन्देश दिएका छन् । सोमबार सिंहदरबारस्थित अर्थ मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यो सरकार कामचलाउ भएको कारण नयाँ सवारी साधन खरिद नगर्न कर्मचारीलाई निर्देशन दिएका हुन् ।
खनालले छ महिनाभित्र निर्वाचन गरिनुपर्ने र पुनःनिर्माणका कामका लागि ठूलो बजेट आवश्यक भएकाले अनावश्यक खर्च रोक्नुपर्नेमा जोड दिए । उनले भने, “निजी सवारीसाधनको क्षति बीमा मार्फत् पूर्ति हुन्छ । नयाँ सवारी खरिद नगरौं, पुराना कबाडी बेच्छौं, पुनःनिर्माण तुरुन्तै शुरू गरेर केही महिनाभित्रै उठ्यौं भन्ने सन्देश दिन जरुरी छ ।”
उनले जेनजी प्रदर्शनका कारण सिंहदरबारमा पुगेको क्षतिबारे उल्लेख गर्दै चाँडो भग्नावशेष हटाउने, भित्तामा रंगरोगन गर्ने र कार्यालयलाई कार्यक्षम बनाउन कदम चालिने बताए ।

त्यसैगरी, राजनीतिक दबाबमा बजेटमा समावेश गरिएका तयारीविहीन तथा टुक्रे आयोजना कटौती गरेमा करिब एक खर्ब स्रोत जुटाउन सकिने अनुमान उनले गरेका छन् । यसका लागि सोमबार नै बजेट महाशाखा प्रमुखको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन गरी आयोजना फिल्टर गर्ने र प्राथमिकता तय गर्ने जिम्मेवारी दिएका छन् ।
खनालले अन्त्यमा भने, “कालो लागेको भित्तालाई रंगरोगन गरौं । विनासबाट उठ्यौं है भन्ने सन्देश अर्थ मन्त्रालयकै तर्फबाट दिन जरुरी छ ।”
