
काठमाडौं । सेयर लगानीकर्ताहरूले धितोपत्र क्षेत्र सुधारका लागि नियामक निकायका शीर्ष पदाधिकारीहरूलाई हटाउन सरकारसँग दबाब दिएका छन् ।
लगानीकर्ता संघका प्रतिनिधिहरूले अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरी नेपाल बिमा प्राधिकरण, नेपाल स्टक एक्सचेन्ज (नेप्से) र नेपाल धितोपत्र बोर्डका नेतृत्वले लगानीकर्ताको भावना विपरीत काम गरेको आरोप लगाउँदै तत्काल परिवर्तनको माग गरेका हुन् ।
चार लगानीकर्ता संघका नेताहरूले मन्त्रीलाई बुझाएको ज्ञापनपत्रमा बिचौलियाको प्रभावमा हुने नियुक्ति रोक्न, दीर्घकालीन सुधार योजना बनाउन र तत्काल राहत दिनुपर्ने आवश्यकता औंल्याइएको छ ।

जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल र नेपाल धितोपत्र लगानीकर्ता संघले पुँजीबजारलाई पारदर्शी र सक्षम बनाउन ठोस कदम चाल्न सरकारलाई आग्रह गरेका छन् ।
उनिहरूले वरिष्ठलाई पन्छाएर कनिष्ठलाई निर्णायक भूमिकामा राख्ने चलन रोक्न, सक्षम व्यक्तिहरूलाई मात्र नियामक निकायमा जिम्मेवारी दिन र स्टक एक्सचेन्ज, धितोपत्र बोर्ड तथा सीडीएसमा आवधिक सरुवा प्रणाली लागू गर्नुपर्ने पनि माग गरेका छन् ।
लगानीकर्ताहरूले पुँजीबजारमा लामो समयदेखि कायम रहेका सीमा र अवरोध तत्काल हटाउनुपर्नेमा जोड दिएका छन् । उनीहरूको भनाइमा, समयमै सुधारात्मक कदम नचालिए नेपालको पुँजीबजारको विकास र विस्तार सम्भव हुने छैन ।
