
‘हाम्रो साझा अभियानः ज्येष्ठ नागरिकप्रति श्रद्धा र सम्मान’ भन्ने नारासहित आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी ज्येष्ठ नागरिक दिवस मनाइँदैछ। ज्येष्ठ नागरिकको हक, हित र अधिकारको संरक्षण गर्दै सम्मान, सुरक्षा र सहभागिता अभिवृद्धि गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।
सामाजिक सुरक्षा भत्ता सुरू गरिएको २०५१ साल पुस ११ गतेको स्मरणमा नेपालमा हरेक वर्ष यो दिवस मनाइन्छ। यसले ज्येष्ठ नागरिकप्रतिको सामूहिक जिम्मेवारी, सम्मान र कर्तव्यलाई पुनः स्मरण गराउँदै उहाँहरूले समाजका लागि पुर्याउनुभएको योगदानको कदर गर्ने अवसर प्रदान गर्छ।

संविधान तथा ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ ले ज्येष्ठ नागरिकलाई विशेष संरक्षण, सामाजिक सुरक्षा र सम्मानजनक जीवनको अधिकार सुनिश्चित गरेको छ। हाल करिब १७ लाख ज्येष्ठ नागरिकले मासिक चार हजार रुपैयाँ वृद्धभत्ता प्राप्त गरिरहेका छन्।
ज्येष्ठ नागरिक दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलले ज्ञान, सीप र अनुभवले समृद्ध ज्येष्ठ नागरिक समाजका प्रेरणादायी मार्गदर्शक भएको उल्लेख गर्दै उहाँहरूलाई आदर, सम्मान र उचित संरक्षण आवश्यक रहेको बताएका छन्।
