
माइती नेपाल आवधिक गृह, कञ्चनपुरले पछिल्लो एक वर्षमा भारतमा बेचबिखनमा परेका १० जना नेपाली महिला तथा किशोरीको उद्धार गरेको छ। विसं २०८१ कात्तिक मसान्तदेखि गत बिहीबारसम्म भारतका विभिन्न सहर तथा प्रदेशबाट उनीहरूलाई सुरक्षित रूपमा नेपाल फर्काइएको हो।
उद्धार गरिएकामध्ये बिहार, चौमली, हरियाणा, मुम्बई र हैदराबादबाट ६ जना तथा दिल्ली र गाजियाबाट ४ जना रहेका छन्। उद्धार भएकामध्ये ८ जना बालिका र २ जना महिला रहेको माइती नेपाल कञ्चनपुरले जनाएको छ।
यसै अवधिमा भारत लैजान खोजिएका २०९ जनालाई कञ्चनपुरका विभिन्न सीमा नाकाबाट रोकथाम गरिएको छ। गड्डाचौकी नाकाबाट सबैभन्दा धेरै ८९ जना रोकिएका छन् भने महाकाली चार लेन पुल, दोधारा चाँदनी झोलुङ्गे पुल तथा अन्य स्थानबाट समेत उद्धार गरिएको हो। रोकिएका व्यक्तिमध्ये ९० जना बालबालिका र ११९ जना महिला रहेका छन्।

दलालहरूले श्रम शोषण, यौन शोषण, उत्तेजक नाच तथा अङ्ग व्यापारका लागि भारत लैजाने प्रयास गर्ने गरेको माइती नेपालले जनाएको छ। सीमामै रोकिएका अधिकांशलाई परिवारको जिम्मा लगाइएको छ।
माइती नेपालका अनुसार पछिल्लो एक वर्षमा १८९ जना हराइरहेकाबारे खोजतलास निवेदन दर्ता भएको छ। तीमध्ये ८१ जना फेला परेका छन् भने बाँकीको खोजी भारतका विभिन्न स्थानमा जारी छ।
शनिबार महेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमार्फत माइती नेपाल कञ्चनपुरले उद्धार, रोकथाम, परामर्श तथा पुनर्मिलनका गतिविधिबारे जानकारी गराएको हो। संस्थाले हालसम्म ४४ हजारभन्दा बढी व्यक्तिलाई मानव बेचबिखनविरुद्ध सचेतना तथा परामर्श प्रदान गरेको जनाएको छ।
