
रूपन्देहीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय आगमन टर्मिनलमा लागूऔषध ओसारपसारको प्रयास विफल भएको छ। विमानस्थल सुरक्षा कार्यालयको टोलीले करिब ५ किलोग्राम गाँजाजस्तो देखिने प्रतिबन्धित पदार्थसहित एक भारतीय नागरिकलाई पक्राउ गरेको हो।
पक्राउ पर्ने व्यक्ति भारतका ३६ वर्षीय राशिद भटियान रहेका छन्। उनी एयर एशियाको उडानमार्फत थाइल्याण्डको बैंककबाट नेपाल आएका थिए। आगमन प्रक्रियाका क्रममा शंकास्पद गतिविधि देखिएपछि सुरक्षा जाँच गर्दा उनको साथबाट उक्त पदार्थ फेला परेको विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

बरामद गरिएको पदार्थको प्रकृति र मात्रा पुष्टि गर्न आवश्यक परीक्षण भइरहेको छ भने पक्राउ परेका भटियानलाई थप अनुसन्धानका लागि सम्बन्धित निकायको जिम्मा लगाइएको छ। घटनाबारे विस्तृत अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
