
काठमाडौं । सन् २०२५ मा विदेशबाट डिपोर्ट भई नेपाल फर्किने नेपालीको संख्या अघिल्ला वर्षको तुलनामा उल्लेख्य रूपमा बढेको छ। अध्यागमन विभागका अनुसार ७७ देशले कुल २ हजार ७९० जना नेपालीलाई डिपोर्ट गरेका छन्, जुन सन् २०२४ को तुलनामा २.२७ गुणा बढी हो।
सन् २०२४ मा ५६ देशबाट १ हजार २२८ जना नेपाली डिपोर्ट भएका थिए। एक वर्षमै डिपोर्ट हुने नेपालीको संख्या १ हजार ५६२ ले बढेको विभागले जनाएको छ।
गत वर्ष सबैभन्दा धेरै मलेसिया (४९८), अमेरिका (४६२), यूएई (३२३), दक्षिण कोरिया (२५७) र जापान (१२८) बाट नेपाली डिपोर्ट भएका छन्। ओभरस्टे, गैरकानुनी बसोबास, भिसा उल्लंघन र अपराधमा संलग्नता डिपोर्टका प्रमुख कारण रहेका छन्।

पछिल्ला पाँच वर्ष (२०२१–२०२५) मा कुल ७ हजार ५०८ जना नेपाली विदेशबाट डिपोर्ट भएका छन्। यस अवधिमा सबैभन्दा धेरै सन् २०२५ मै नेपाली डिपोर्ट भएका हुन्।
यता, सन् २०२५ मा नेपालले ५०१ जना विदेशी नागरिकलाई डिपोर्ट गरेको छ। तीमध्ये ४३७ जना ओभरस्टे र ६४ जना विभिन्न अपराधमा संलग्न रहेका छन्। डिपोर्ट हुनेमा चिनियाँ नागरिकको संख्या सबैभन्दा बढी (१२६) छ।
अध्यागमन विभागका अनुसार सन् २०१४ देखि २०२५ सम्म नेपालले ५ हजार ३०९ जना विदेशीलाई डिपोर्ट गरिसकेको छ। साथै, सन् २०२५ मा ३६ देशका ११६ विदेशीलाई नेपाल प्रवेश अस्वीकार गरिएको छ।
