
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले ग्रिनल्याण्ड अधिग्रहणका विकल्पहरूबारे छलफल गरिरहेको खुलासापछि अमेरिका र युरोपेली देशहरूबीच कूटनीतिक तनाव बढेको छ। ह्वाइट हाउसले ग्रिनल्याण्डलाई राष्ट्रिय सुरक्षासँग जोड्दै आवश्यक परे सैन्य विकल्प पनि खुला रहेको संकेत गरेपछि विवाद चर्किएको हो।
ट्रम्पले पटक–पटक ‘ग्रिनल्याण्ड आवश्यक छ’ भन्ने अभिव्यक्ति दिएपछि डेनमार्कसहित युरोपेली देशहरू एकजुट भएका छन्। बेलायत, फ्रान्स, जर्मनीलगायत सात देशले संयुक्त वक्तव्य जारी गर्दै ग्रिनल्याण्डको सार्वभौमिकता र अन्तर्राष्ट्रिय कानुनको सम्मान गर्न अमेरिकालाई आग्रह गरेका छन्।

डेनमार्ककी प्रधानमन्त्री मेट्टे फ्रेडरिक्सेनले अमेरिकी आक्रमणले नाटो नै कमजोर हुनसक्ने चेतावनी दिएकी छन्। ग्रिनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सेनले युरोपेली समर्थनको स्वागत गर्दै सम्मानजनक संवादको माग गरेका छन्।
अमेरिकाले भने आक्रमण उद्देश्य नभई खरिद वा विशेष सहकार्यबारे छलफल भइरहेको जनाएको छ। यसबीच ग्रिनल्याण्डमा अमेरिकी अभिव्यक्तिप्रति आक्रोश बढ्दै गएको छ। विश्लेषकहरूका अनुसार आर्कटिक क्षेत्रमा रणनीतिक, खनिज र व्यापारिक चासोका कारण ग्रिनल्याण्ड विश्व शक्तिहरूको केन्द्रमा परेको छ।
