
नेपाल विद्युत प्राधिकरणले जेन–जी आन्दोलनका शहीद परिवारका सदस्यलाई रोजगारी दिने निर्णय गरेको छ। सरकारको निर्णयअनुसार प्राधिकरण सञ्चालक समिति (बोर्ड)ले शहीद परिवारका २७ जनालाई करार सेवामा नियुक्त गर्ने निर्णय गरेको हो।
मंगलबार निवर्तमान ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री तथा बोर्ड अध्यक्ष कुलमान घिसिङको अध्यक्षतामा बसेको बैठकले शैक्षिक योग्यताका आधारमा बढीमा तीन तहसम्मको पदमा, पायक पर्ने प्राधिकरण कार्यालयमा नियुक्ति दिने निर्णय गरेको हो।

जेन–जी आन्दोलनका शहीद परिवारका २७ जनाबाट रोजगारीका लागि निवेदन परेको थियो। सरकार र आन्दोलनका प्रतिनिधिबीच भएको सम्झौता तथा मन्त्रिपरिषद्बाट स्वीकृत सहायता कार्यविधि अनुसार यो निर्णय गरिएको घिसिङले जानकारी दिनुभयो।
कार्यविधिअनुसार जेन–जी प्रदर्शनमा घाइते, अपाङ्ग भएका व्यक्ति वा शहीद परिवारका सदस्यलाई निःशुल्क शिक्षा र रोजगारीको व्यवस्था सम्बन्धित मन्त्रालयमार्फत मिलाइने प्रावधान छ। आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई सरकारले शहीद घोषणा गरिसकेको छ।
