
काठमाडौं — नयाँ वर्षको पूर्वसन्ध्यामा शुभकामना सन्देश जारी गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीति र राज्य सञ्चालनमा युवा पुस्ताको बढ्दो संलग्नतालाई सकारात्मक संकेतका रूपमा व्याख्या गरेका छन्।
भिडियो सन्देशमार्फत उनले शिक्षित, देशबुझेका र आधुनिक प्रविधिमा दक्ष युवाहरूको सक्रिय सहभागिताले राष्ट्र निर्माणमा नयाँ ऊर्जा थप्ने विश्वास व्यक्त गरेका हुन्। “युवा पुस्ताको आगमनले देशलाई फलदायी दिशातर्फ अघि बढाउन मद्दत पुग्छ,” सन्देशमा उल्लेख छ।
पूर्वराजा शाहले विगतका वर्षहरूमा राजनीतिक परिवर्तन भए पनि अपेक्षित विकास हुन नसकेकोप्रति चिन्ता व्यक्त गर्दै स्थिरता, निरन्तरता र दृढतामा जोड दिएका छन्। उनका अनुसार केवल प्रणाली र व्यक्ति परिवर्तनले मात्र समग्र अवस्था सुधार नहुने पाठ विगतले सिकाएको छ।

सन्देशमा उनले वर्तमान आर्थिक चुनौती, आन्तरिक सुरक्षा तथा जनजीवनसँग जोडिएका समस्याहरू समाधान गर्न राज्यको ध्यान केन्द्रित हुनुपर्ने आवश्यकता औंल्याएका छन्। साथै, आत्मनिर्भरता, स्रोत–साधनको सदुपयोग र सांस्कृतिक संरक्षणमार्फत देशको समृद्धि सम्भव रहेको धारणा व्यक्त गरेका छन्।
उनले राजनीतिक दल र सरोकारवाला पक्षहरूलाई संवाद, सहमति र सहकार्यको बाटो रोज्दै संवैधानिक समाधान खोज्न आग्रह गरेका छन्। द्वन्द्व, विभाजन र प्रतिशोधको राजनीतिले राष्ट्रलाई कमजोर बनाउने उल्लेख गर्दै सबैलाई राष्ट्रिय हितलाई केन्द्रमा राखेर अघि बढ्न आह्वान गरेका छन्।
सन्देशको अन्त्यमा उनले पशुपतिनाथको आशीर्वादले सम्पूर्ण नेपालीमा शान्ति, समृद्धि र सुख कायम होस् भन्ने कामना गरेका छन्।
