
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको संरचना पुनरावलोकन प्रक्रिया अघि बढाउँदै गाउँपालिका, नगरपालिका र वडाको सङ्ख्या तथा सिमाना हेरफेरबारे सरोकारवालासँग सुझाव माग गरेको छ। वैशाख ३ गते जिल्ला समन्वय समिति, स्थानीय तह र सम्बन्धित निकायलाई पत्राचार गर्दै तीन दिनभित्र राय पठाउन आग्रह गरिएको हो।
मन्त्रालयका अनुसार स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का प्रावधानअनुसार सिमाना समायोजन, स्थानीय तह गाभ्ने (मर्जर) र नगरपालिकाको वर्गीकरण पुनरावलोकनसम्बन्धी प्रारम्भिक मस्यौदा तयार भइसकेको छ। सो मस्यौदालाई अन्तिम रूप दिन जिल्ला समन्वय समिति महासङ्घ, नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घसँग पनि समन्वय गरिएको छ।

प्राप्त सुझावका आधारमा स्थानीय तहको संरचनात्मक सुधार र सुदृढीकरणका लागि आवश्यक निर्णय अघि बढाइने मन्त्रालयले जनाएको छ।
