
कपिलवस्तु — बुद्धभूमि नगरपालिकामा आयोजित दुई दिने निःशुल्क आँखा शिविरले ९२४ जनालाई सेवा प्रदान गरेको छ। बुधबार र बिहीबार सञ्चालन भएको शिविरमा आँखाको जाँच, औषधि वितरण, र मोतियाविन्दु अप्रेसन समेत गरिएको हो।
शिविरमा ९२४ जनाको आँखा जाँच गरिएको थियो। यस क्रममा मोतियाविन्दुका समस्या भएका २०० जनाको निःशुल्क शल्यक्रिया गरिएको छ। पहिलो दिन १३० र दोस्रो दिन ७० जनाको अप्रेसन गरिएको उनले जानकारी दिए। शल्यक्रियापछि सेवा लिने सबैलाई औषधि र चस्मा वितरण गरिएको छ।
शिविर बुद्धभूमि नगरपालिकाको आयोजनामा नेपाल नेत्रज्योति संघ र छन्द ‘कालेबाबु’ नारायणी आँखा अस्पताल बहादुरगंजको प्राविधिक सहयोगमा सम्पन्न भएको हो।
नगरप्रमुख केशव कुमार श्रेष्ठले शिविरको उद्देश्य आर्थिक अवस्था कमजोर भएका र वृद्धावस्थाका कारण अस्पताल जान नसक्ने नगरवासीलाई सेवा प्रदान गर्नु रहेको बताए। उनले नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिदैँ यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाए। “स्वास्थ्य नै मानिसको धन हो,” श्रेष्ठले भने, “नगरपालिकाले आफ्ना नागरिकलाई निरोगी बनाउने अभियानलाई निरन्तरता दिनेछ।”

सेवाग्राहीको खुसी शिविरबाट सेवा लिने धेरैले आफ्नो अनुभव साझा गरेका छन्। मोतियाविन्दुको शल्यक्रिया पश्चात दृष्टि फर्काउन पाउँदा नयाँ संसार देख्न पाएको उनीहरुको भनाइ छ। “आँखा देख्न नसक्दा जीवन कठिन थियो, तर अब संसार उज्यालो भएको छ,” एक सेवाग्राहीले भने।
यस किसिमका स्वास्थ्य शिविरले नगरवासीलाई लाभान्वित गर्दै नगरको स्वास्थ्य क्षेत्रमा सकारात्मक योगदान पुर्याइरहेको छ।
