

काठमाडौं – चालु आर्थिक वर्षको साउनदेखि मंसिर मसान्तसम्ममा नेपालले २४ करोड ८८ लाख ९६ हजार रुपैयाँ बराबरका कुरकुरे, कुरमुरे, लेज र चिजबल आयात गरेको छ। भन्सार विभागका अनुसार यस अवधिमा ४८८,१३३ किलो ती खाद्य पदार्थ आयात भएका छन्। सबैभन्दा धेरै परिमाणमा यी सामग्री भारतबाट आयात भएका छन्। भारतबाट मात्र २० करोड १२ लाख ५० हजार रुपैयाँ बराबरका कुरकुरे, कुरमुरे, लेज र चिजबल आयात भएको छ।भारतबाहेक मलेशियाबाट ३ करोड २२ लाख १४ हजार, दक्षिण कोरियाबाट ६४ लाख ८३ हजार, चीनबाट २६ लाख ७० हजार, र भियतनामलगायतका अन्य देशबाट ६२ लाख ८० हजार रुपैयाँ बराबरका कुरकुरे तथा चिजबल आयात भएका छन्। यस आयातबाट भन्सार विभागले १५ करोड ५९ लाख ४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ। विदेशबाट हुने यस्ता खाद्य पदार्थको आयातले विदेशी मुद्रा बाहिरिने मात्र होइन, स्थानीय उत्पादनलाई समेत चुनौती दिने देखिन्छ।
