
शहीद बहुमुखी क्याम्पस, रामपुरमा पुस १६ देखि २३ गतेसम्म आयोजित धनधान्याञ्चल श्रीमद भागवत ज्ञान महायज्ञ एवं धार्मिक महोत्सवमा चार करोड ४१ लाख ५९ हजार ८६३ रुपैयाँ दान सङ्कलन भएको छ।
आर्थिक सङ्कलन समितिका संयोजक सुकदेव पोखरेलका अनुसार महायज्ञमा नगद दुई करोड ७५ लाख २६ हजार ५०२ रुपैयाँ र एक करोड ६६ लाख ३३ हजार ३६१ रुपैयाँ बराबरको जग्गा दान प्राप्त भएको छ। नगदमध्ये एक लाख ९५ हजार २१७ रुपैयाँ दानपेटिकाबाट र दुई करोड ७३ लाख ३१ हजार २८५ रुपैयाँ रसिदबाट सङ्कलित भएको हो।
यस महायज्ञको उद्देश्य क्याम्पसमा संकाय थप, सिपमूलक शिक्षा सञ्चालन, र टाढाबाट आउने विद्यार्थीका लागि छात्रावास निर्माण गर्नु हो। महायज्ञमा १२ जना दाताले जग्गा दान गरेका थिए। आयोजक समितिका अनुसार अझै घोषणा गरिएको केही रकम आउन बाँकी रहेकाले दानको कुल राशि अझ बढ्न सक्नेछ।
धान सङ्कलन उपसमितिका संयोजक ऋषिराम रेग्मीका अनुसार महायज्ञका लागि कालीगण्डकी बेंसी क्षेत्रका ९६ वटा धान सङ्कलन केन्द्रबाट एक हजार ३४ मुरीभन्दा बढी धान सङ्कलन गरिएको छ।

मूल आयोजक समितिका अध्यक्ष नेत्रप्रसाद भट्टराईले महायज्ञ सबैको सहयोग र उत्साहले सफलतापूर्वक सम्पन्न भएको बताएका छन्। महायज्ञमा तीनदेखि पाँच करोडसम्म दान सङ्कलन हुने अपेक्षा राखिएको भए पनि लक्ष्यभन्दा बढी दान प्राप्त भएको उनले जानकारी दिए।
महायज्ञ सम्पन्न भएसँगै माघ १२ गतेभित्र आम्दानी र खर्च सार्वजनिक गर्ने तयारी अघि बढाइएको छ। क्याम्पस प्रमुख मुरारीप्रसाद काफ्लेका अनुसार सङ्कलित धान ३६ रुपैयाँ प्रतिकिलो र चामल ७० रुपैयाँ प्रतिकिलोको दरले बिक्री गर्ने निर्णय गरिएको छ।
महायज्ञमा वाचन प्रवीण पण्डित दीनबन्धु पोखरेलद्वारा प्रवचन दिइएको थियो।
