
झापामा नेपाल-भारत अन्तर्राष्ट्रिय सीमास्तम्भको मर्मत कार्य आरम्भ भएको छ। नेपाल–भारत बाउन्ड्री वर्किङ ग्रुपको निर्णयअनुसार नेपालतर्फका बिजोर नम्बरका सीमास्तम्भहरू मर्मत गरिने सशस्त्र प्रहरी बल, झापा नम्बर २ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जनाएका छन्।
मर्मत कार्य मेचीनगर नगरपालिका-१५ स्थित सिसुवाडाँगीको सानो सीमास्तम्भ नं ९५-१२ बाट सुरू भएको छ। झापामा भारतसँग जोडिएको १४४.२ किलोमिटरको सीमा क्षेत्रभित्र पर्ने १०७ सीमास्तम्भहरू मर्मत गरिने योजना रहेको छ।

सीमास्तम्भ मर्मतको यो प्रक्रिया सशस्त्र प्रहरी बल, जिल्ला प्रशासन कार्यालय, नापी विभाग, स्थानीय जनप्रतिनिधिहरू, भारतीय सीमा सुरक्षा बल (एसएसबी), र स्थानीयवासीको उपस्थितिमा सम्पन्न भइरहेको छ।
