
महाराष्ट्रको जलगाउँमा भएको दर्दनाक रेल दुर्घटनामा चार नेपालीसहित १२ जनाको ज्यान गएको छ। भारतीय सञ्चार माध्यमका अनुसार मृतक नेपालीहरूमा १० वर्षीय हिमु नन्दराम विश्वकर्मा, ४० वर्षीय लच्छीराम कन्नु पासी, ४२ वर्षीया कमला भण्डारी र ८० वर्षीया जयकला बटे जयकाडी रहेका छन्। उनीहरूको ठेगाना भने अझै खुल्न सकेको छैन।
दुर्घटना हिजो लखनऊबाट मुम्बई जाँदै गरेको रेल जलगाउँ क्षेत्रमा पटरीबाट खसेपछि भएको हो। दुर्घटनामा ४० जनाभन्दा धेरै घाइते भएका छन् भने १२ जनाले ज्यान गुमाएका छन्। मृतकमध्ये हालसम्म सात जनाको मात्र पहिचान खुलेको छ।

घटनास्थलमा उद्धार कार्य जारी छ भने घाइतेहरूको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको अधिकारीहरूले बताएका छन्।
