
रुपन्देहीको डण्डा क्षेत्रमा सशस्त्र प्रहरीले स्रोत नखुलेको २४ लाख रुपैयाँभन्दा बढी रकम बरामद गरेको छ। प्रस्तावित सीमा सुरक्षा गुल्म, डण्डाको चेकप्वाइन्ट टोलीले नियमित चेकजाँचका क्रममा बिहीबार उक्त रकम फेला पारेको हो।
चेकजाँचको क्रममा खुल्यो रकमको रहस्य
सिद्धार्थनगर नगरपालिका वडा नं. १, डण्डा क्षेत्रबाट प्रहरीले लु ९२ प ३५४६ नम्बरको स्कुटर रोकी जाँच गर्दा २४ लाख १३ हजार १३० रुपैयाँ नेपाली र १ हजार ५४० रुपैयाँ भारतीय नगद बरामद गरेको छ।
उक्त रकम भारतको महाराजगञ्ज नौतनवा ग्रामपञ्चायत वडा नं. ४ निवासी २३ वर्षीय अभिषेक अग्रहरीले आफ्नो शरीरमा लुकाएर राखेको अवस्थामा फेला परेको थियो।

कारबाहीका लागि हस्तान्तरण
सशस्त्र प्रहरी बल नं. २७ गण हेडक्वाटर, रुपन्देहीका प्रमुख एसपी आनन्द थापा मगरका अनुसार, नियमित चेकजाँचको क्रममा फेला परेको स्रोत नखुलेको रकम, स्कुटर र अभियुक्त अग्रहरीलाई आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय, बुटवलमा बुझाइएको छ।
सशस्त्र प्रहरीले सीमा क्षेत्रमा भइरहेको चेकजाँचलाई अझ कडा बनाउने बताएको छ।
