
नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा शनिबार ‘४६औं पर्यटक प्रहरी दिवस, २०८१’ भव्य रूपमा मनाइएको छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो।
समारोहमा मन्त्री पाण्डेले पर्यटक प्रहरी कार्यमा विशिष्ट योगदान पुर्याउने विभिन्न सङ्घसंस्था र व्यक्तित्वहरूलाई प्रशंसापत्र प्रदान गरे। उनले पर्यटकहरूको सुरक्षा र पर्यटन विकासमा पर्यटक प्रहरीको भूमिकालाई महत्त्वपूर्ण भन्दै यसको प्रभावकारी कार्यको प्रशंसा गरे।
समन्वयात्मक भूमिकाको आवश्यकता
कार्यक्रममा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले पर्यटकीय सुरक्षाको व्यवस्थापन एकल प्रयासबाट सम्भव नहुने भन्दै सबै सरोकारवालाको समन्वयात्मक भूमिकाको आवश्यकता रहेको बताए। कुँवरले नेपाललाई विश्वसामु सुन्दर मात्र नभई सुरक्षित गन्तव्यका रूपमा प्रस्तुत गर्नुपर्नेमा जोड दिए।
उनले भने, “पर्यटकको सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल प्रहरीले पर्यटन क्षेत्रको संरक्षण, विकास र प्रवर्द्धनका लागि निरन्तर कटिबद्धता देखाएको छ।”

कार्यक्रममा पर्यटक प्रहरीका उपलब्धि र चुनौतीहरूबारे छलफलसमेत भएको थियो। नेपाल प्रहरी र अन्य सरोकारवाला निकायहरूको सहकार्यमा देशको पर्यटन क्षेत्र अझै समृद्ध हुने विश्वास समारोहमा व्यक्त गरियो।
नेपालको पर्यटन क्षेत्र सुरक्षित र आकर्षक
कार्यक्रमका वक्ताहरूले नेपाललाई विश्वस्तरीय गन्तव्य बनाउन सुरक्षा व्यवस्थालाई सुदृढ गर्दै पर्यटकको मनोबल बढाउनुपर्ने आवश्यकता औँल्याए। यस अवसरमा सहभागी सरोकारवालाले पर्यटक प्रहरीको भूमिकालाई थप प्रभावकारी बनाउने प्रतिवद्धता व्यक्त गरे।
समारोहको आकर्षण
कार्यक्रममा पर्यटक प्रहरीद्वारा विशेष सुरक्षात्मक कार्यहरूको प्रदर्शन र अतिथिहरूका लागि सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको थियो। दिवसले नेपाललाई पर्यटनमैत्री र सुरक्षात्मक गन्तव्यको रूपमा प्रवर्द्धन गर्ने अपेक्षा गरिएको छ।
