
शहबाज खान, कपिलवस्तु
कृष्णनगर भन्सार कार्यालयले अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भारतबाट आएका पर्यटक र बिरामी सेवाग्राहीलाई घण्टौँसम्म गाडी रोकेर भन्सार प्रक्रिया नगर्दा सेवाग्राहीले ठूलो सास्ति ब्यहोर्न परेको छ ।
उत्तर प्रदेशको सिद्धार्थनगर जिल्लाबाट आएका एक पर्यटकले भन्सार परिसरमा एक घण्टासम्म आफ्नो गाडी रोकिएको गुनासो गरेका छ्न । छिमेकि बजार बढ़नीका एक स्थानीय व्यक्तिले बिहान ८ बजे आफ्नो बिरामी महिलालाई उपचारका लागि बुटवल लैजान भन्सार परिसरमा पुगेका थिए। तर, भन्सार कार्यालयका कर्मचारीहरूले भन्सार प्रक्रियालाई प्राथमिकता नदिँदा उनीहरूले १ घण्टाभन्दा बढी समय कुर्नुपर्यो। ती व्यक्तिले बताएअनुसार, “भन्सार दिवसका अवसरमा पहिलो सेवाग्राहीलाई फूलमालाले सम्मान गर्ने कार्यक्रमका कारण स्थानीय सेवाग्राहीको काम रोकिएको हो। कर्मचारीहरूले बाहिरी व्यक्तिहरूका लागि तयारीमा समय लगाउँदा हामीले दुःख पायौं।”भन्सार कार्यालयका कर्मचारीहरूसँग कुरा गर्दा उनीहरूले एकअर्कालाई जिम्मेवार ठहराउँदै समस्याबाट पन्छिने प्रयास गरे।
भन्सार कार्यालय कृष्णनगरका प्रमुख फणिन्द्र खतिवडासँग सोध्दा उनले सबै सेवाग्राहीलाई नियमित प्रक्रिया गरिएको दाबी गरे। उनले भने, “कुनै पनि सेवाग्राहीलाई रोकिएको छैन। अन्तर्राष्ट्रिय भन्सार दिवसका कारण केही कार्यक्रम तयारीमा लाग्दा सामान्य ढिलाइ भएको हो।”तर, सेवाग्राहीहरू घण्टौँसम्म भन्सार परिसरमा अलमलमा बस्नुपरेको घटना र कर्मचारीहरूको तयारीलाई लिएर कार्यालय प्रमुखको जवाफप्रति असन्तुष्टि व्यक्त गरियो। सेवाग्राहीहरूको भीड र विरोधपछि बिहान ९ बजेदेखि मात्र भन्सार प्रक्रिया सुचारु गरियो।


अन्तर्राष्ट्रिय भन्सार दिवसजस्तो विशेष दिनमा सेवाग्राहीलाई प्राथमिकता दिनुपर्नेमा उनीहरूलाई सास्ती दिनु उचित हो त? यस घटनाले भन्सार कार्यालयको व्यवस्थापनमा सुधारको आवश्यकता देखाएको छ।
