
देशभर पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभाव कायमै रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। हाल मौसम सामान्य बदलीदेखि सफा रहँदा अधिकांश स्थानमा स्थिर मौसम अनुभव भइरहेको छ।
विभागका अनुसार, दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा आंशिक बदली रहनेछ भने अन्य भागमा मौसम खुला रहनेछ। साथै, कोशी प्रदेशका पहाडी भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ। उच्च पहाडी तथा हिमाली भेगमा समेत एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
रातिको समय देशभर आंशिक बदलीदेखि सफा रहने अनुमान गरिएको छ। आगामी २४ घण्टाका लागि मौसम विभागले कोशी प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी भेगमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै सतर्कता अपनाउन आग्रह गरेको छ।

जल तथा मौसम विज्ञान विभागले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई उड्डयनमा आंशिक असर पर्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
