
कपिलवस्तु – कपिलवस्तु जिल्लाको विजयनगर गाउँपालिका-३ मायनारीमा कुटपिटको एक घटनाले चर्चा पाएको छ। चैत २ गते सामान्य विवादका क्रममा नन्दलाल कुर्मी र उनका परिवारले सुकुना खटिकमाथि कुटपिट गरेका थिए। घटनापछि घाइते भएकी खटिकले प्रहरी समक्ष न्यायको माग गरे पनि प्रारम्भमा घटनाले व्यापकता पाएको थिएन।
तर, चैत ५ गते विभिन्न सञ्चारमाध्यमहरूले समाचार प्रकाशन गरेपछि प्रहरीले घटनाको कारबाही अघि बढाएको हो। यसै क्रममा इलाका प्रहरी कार्यालय गणेशपुरले चैत ७ गते नन्दलाल कुर्मीलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानपछि प्रहरीले जिल्ला अदालत कपिलवस्तुबाट ५ दिनको म्याद थप गरी अनुसन्धान थालेको थियो। थप अनुसन्धान आवश्यक ठहरिएपछि अदालतबाट पुनः ७ दिनको म्याद थप गरिएको छ।

प्रहरीका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ। सुकुना खटिकमाथि भएको कुटपिट जातीय विभेदसँग सम्बन्धित छ वा अन्य व्यक्तिगत कारणले भएको हो भन्नेबारे अनुसन्धान जारी रहेको जनाइएको छ। यस घटनाले दलित समुदायमाथि हुने हिंसाका घटनालाई पुनः सतहमा ल्याएको छ। स्थानीय अधिकारकर्मीहरूले दोषीलाई कडा कारबाहीको माग गरेका छन्।
यसैबीच, प्रहरीले पीडितको सुरक्षाका लागि आवश्यक कदम चाल्ने प्रतिबद्धता जनाएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको र दोषी ठहरिए कानुनी कारबाही गरिने प्रहरीले स्पष्ट पारेको छ।
