
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सोबिता गौतमले गृहमन्त्री रमेश लेखकको राजीनामा माग गरेकी छिन्। मंगलबार संसद भवन बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले चैत १५ गतेको प्रदर्शनका क्रममा सरकार सुरक्षा व्यवस्थापनमा असफल भएको आरोप लगाइन्।
प्रहरीको गोलीबाट कीर्तिपुरका सविन महर्जनको मृत्युबारे सरकारको भनाइ र वास्तविकता फरक रहेको उनले बताइन्। ‘सरकारले लापरबाही गरेको छ, गृहमन्त्रीले सुरक्षा संयन्त्रको जिम्मेवारी लिन सकेनन्, त्यसैले उहाँले पद त्याग्नुपर्छ,’ उनले भनिन्।

सांसद गौतमले संसदको हिउँदे अधिवेशनलाई नियन्त्रणमुखी रहेको बताउँदै रास्वपा सभापति रवि लामिछानेमाथि लगाइएको निलम्बनलाई पनि नियोजित प्रक्रिया भनेकी छिन्। उनले नेपालमा हरेक विषयलाई राजनीतिकरण गर्ने प्रवृत्तिप्रति आपत्ति जनाउँदै निष्पक्ष शासनको माग गरेकी छिन्।
